काठमाडौं, १० असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आजबाट सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकको पहिलो दिन आज (बुधबार) शीर्ष नेताहरुबीच नै घोचपेच भएको छ । पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको पुष्टि नेताहरुबीचको प्रस्तुतिले दिएको बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।
उनकाअनुसार आजको बैठकको अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले सुरुमा आ-आफ्नो मन्तव्य राखेका थिए । अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गरेको भनेर प्रशंसा गरेका थिए । तर, ओली बोल्दाबोल्दै बरिष्ठ नेता माधव कुमार नेपालले आफ्नो प्रशंसा आफैं नगरौं भन्दै सरकारले राम्रो काम गरेको छ कि छैन ? भनेर हेर्न ग्राउण्डमा जान सुझाव दिए । उनले सरकारले राम्रो काम गरेको भए जनतामा सरकार र नेकपाप्रति किन आक्रोश हुन्थ्यो ? भन्ने प्रश्न राखेका थिए ।
नेता नेपालले बीचमै रोकेर घोचपेच गरेपछि प्रधानमन्त्री ओलीले आफ्नो पालामा बोल्न सुझाएका थिए । उनले सरकारले धेरै राम्रो काम गरेको भन्दै एकपछि अर्को गरेर फेहरिस्त सुनाएका थिए । कोरोना रोकथाम तथा नियन्त्रणमा प्रभावकारी कदम चालेको कारण कमभन्दा कम क्षति भएको तथ्यांक पेश गरे । त्यस्तै, भारतसँग सिमा विवादको सम्बन्धमा डटेर सामना गरेको विषयलाई पनि उनले सरकारको राम्रो कामको लिष्टमा राखे । नेता नेपालले नेकपाले अहिले पाएको जनमत केपी ओली एक्लैको कारणले नपाएको भन्दै यसको लागि पार्टी एकता मुख्य कारण रहेको सुनाए ।
उनले एकतापनि सामूहिक प्रयासबाट भएको तथ्य पेश गरे । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आजको बैठकमा कडा रुपमा प्रस्तुत भएका थिए । उनले सरकारको काम प्रभावकारी नभएको भन्दै यसलाई सुधार गर्न निमर्म रुपमा प्रस्तुत हुनुपर्ने भन्दै एक व्यक्ति एक पदमा जानैपर्नेमा जोड दिएका थिए । उनले सरकारलाई विदेशी शक्तिबाट खतरा रहेको भन्न्ने प्रधानमन्त्री ओलीको भनाईलाई खण्डन गरेका थिए ।
कतैबाटपनि खतरा नभएको भन्दै आत्माआलोचना गरेर अघि बढ्न ओलीलाई सुझाव दिए । उनले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति तोडेर आफूले गल्ती गरेको कुरा अहिले आएर महशुस हुन थालेको पनि उल्लेख गरेका थिए ।स्थायी कमिटीको अर्को बैठक यही असार १२ गते बस्दैछ । बैठकमा सरकारको कामको विषयमा गम्भिर समिक्षा हुने र दाहाल नेपाल समूहका नेताहरु प्रधानमन्त्री ओलीविरुद्ध कडा रुपमा प्रस्तुत हुने तयारीमा छन् ।




प्रतिक्रिया