Logo

जबर्जस्ती करणी मुद्दामा २४ वर्ष कैद



दमौली,असार १७ । जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई तनहुँ जिल्ला अदालतले २४ वर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले दुई बालिकालाई जबर्जस्ती करणी अभियोगमा रौतहट गढीमाई नगरपालिका–५ बस्ने नुरमहम्मद अन्सारीलाई २४ वर्ष कैदको फैसला सुनाएको हो ।

तेह्र र १५ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा अदालतले निजलाई एउटा मुद्दामा १८ वर्ष कैद, ५० हजार जरिवाना तथा अर्को मुद्दामा १२ वर्ष कैद र २५ हजार जरिवानाको फैसला सुनाएको हो । यद्यपि एउटै व्यक्तिले समान प्रकृतिका दुई कसुर गरेकाले एकीकृत फैसलाअनुसार निजलाई २४ वर्ष कैद र ७५ हजार जरिवानाको फैसला भएको जिल्ला अदालत तनहुँका स्रेस्तेदार विदुर उपाध्यायले जानकारी दिए।

पोखरा घर भएका दुई युवतीलाई अभियुक्तले तनहँुमा ल्याई जबर्जस्ती करणी गरेको अभियोगमा परिवारले कास्की प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको थियो । घटनास्थल तनहुँ भएकाले निजविरुद्ध तनहुँ जिल्ला अदालतबाट मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

यसैगरी १४ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरी बालविवाह गरेको अभियोगमा जिल्ला अदालत तनहुँले अभियुक्तलाई दुई वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले मुख्य अभियुक्त बन्दीपुर गाउँपालिका–१ का नवीन अर्जेललाई दुई वर्ष छ महिना कैद र रु पाँच हजार जरिवानाको फैसला गरेको हो ।

साथै मुख्य अभियुक्त अर्जेलबाट पीडित बालिकालाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिलाइने आदेश भएको जिल्ला अदालत तनहुँका स्रेस्तेदार उपाध्यायले जानकारी दिए । सोही अभियोगमा बन्दीपुर गाउँपालिका–१ बस्ने सुकुमाया अर्जेललाई तीन महिना कैद र रु तीन हजार जरिवाना, व्यास नगरपालिका–१२ बस्ने सन्तोष सुनारलाई तीन महिना कैद र रु तीन हजार जरिवाना र सोही ठाउँ बस्ने सविना सुनारलाई तीन महिना कैद र रु तीन हजार जरिवानाको फैसला भएको छ । चार जनाविरुद्ध विसं २०७६ जेठ ६ गते जबर्जस्ती करणी र बालविवाह मुद्दामा अदालतमा मुद्दा दर्ता भएको थियो । उक्त मुद्दाको सात पटक पेशी सरेको थियो । रासस



प्रतिक्रिया दिनुहोस्