Logo

पुनःस्थापना केन्द्र सञ्चालनसम्बन्धी विधेयक सच्याउन माग



रुपन्देही, २० असार : सेवा केन्द्र तथा पुनःस्थापना केन्द्रको स्थापना तथा सञ्चालन सेवा तथा पुनःस्थापना कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रस्तावनामा रहेका त्रुटि सच्याएर मात्रै पारित गर्न सरोकार पक्षले सुझाव दिएको छ ।

विधेयकमाथि सरोकार पक्षको राय लिन आज बसेको सामाजिक विकास समितिको बैठकमा सहभागी विभिन्न सङ्घसस्थाका प्रतिनिधिले विधेयकको प्रस्तावना, कोषको सञ्चालन तथा पुनःस्थापना केन्द्रका काम, कर्तव्य र अधिकारमा धेरै विषय छुटेका कारण थप गर्न सुझाव दिए ।

बैठकमा मानव अधिकार आयोग प्रदेश नं ५ का निर्देशक सम्झना शर्माले लैङ्गिक हिंसा प्रभावितको सुरक्षा तथा उपचारका लागि पुनःस्थापना केन्द्र स्थापनासम्बन्धी विधेयक आउनु राम्रो भएको बताउँदै सञ्चालनमा आउने अप्ठ्यारा परिस्थितिलाई ध्यानमा राखी सबै विषय समेटिनुपर्ने धारणा राखे ।

कदम नेपालका अध्यक्ष इन्दिरा आचार्यले घरेलु हिंसा मात्र नभई सबै प्रकारका हिंसापीडितको सुरक्षाका लागि पुनःस्थापना केन्द्र आवश्यक रहने भएकाले प्रस्तावनामा सुधार गर्नुपर्ने बताए । माइती नेपालका भैरहवाका प्रमुख माया क्षेत्रीले लैङ्गिक हिंसा पीडितको सुरक्षा र सामाजिक पुनःस्थापनाका लागि दीर्घकालीन रुपमा रोजगारीको व्यवस्था हुनुपर्ने उल्लेख गरे ।

समितिका सभापति दीर्घनारायण पाण्डेयले सबैका सुझावका आधारमा विधेयकमा छुटेका विषय समेटिने बताए । यसअघि प्रदेशसभामा प्रस्तुत उक्त विधेयक अपुरो भएको जनाउँदै संशोधन प्रस्ताव दर्ता भएपछि थप छलफलका लागि समितिमा पठाइएको थियो ।रासस/File Photo



प्रतिक्रिया दिनुहोस्