Logo

पहिरोमा पुरिएका छ जनाको शव फेला, एक बेपत्ता



बझाङ, २० असार : बझाङमा शुक्रबार राति पहिरो जाँदा केदारस्यूँ गाउँपालिका–८ मल्लेसी गाउँमा १८ घर पहिरोले बगाउँदा छ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । शनिबार बिहान स्थानीयवासी र सुरक्षाकर्मीहरुले पहिरोमा पुरिएका छ जनाको शव निकालेको छ ।

आफ्नै घरभित्र पुरिएको अवस्थामा ४४ वर्षीया रामती जेठारा र उहाँकी १५ वर्षीया छोरी शान्ति जेठारा, ११ वर्षीय छोरा प्रयागराज जेठारा र सात वर्षीेया छोरी अस्मिता जेठाराको शव निकालेको घटनास्थलबाट प्रहरी सहायक निरीक्षक रायभानसिंह ऐरीले बताए । उनका अनुसार ८० वर्षीय दले जेठारा, १२ वर्षीय सन्तु जेठाराको शव पनि लिकालेको छ भने पहिरोमा पुरिएका २० वर्षीया गिरिजा जेठाराको खोजी भइरहेको छ ।

“राति अविरल वर्षासहित गाउँ माथिबाट अलिअलि पहिरो आउँदा जानकारी भएपछि हल्लाखल्ला गरेर राति सबै घरबाट बाहिर निस्कियौँ”, घटनाका स्थानीयवासी सुरेश जेठाराले भने यो, “उनीहरु भाग्न नसकेर पहिरोमा पुरिएका हुन् । गाउँको माथिपट्टि रहेको रातोपड सामुदायिक वनबाट पहिरो आएपछि १८ घर पूर्णरुपमा क्षति भएका छन् । उहाँका अनुसार पहिरोमा परी २२ भैँसी, ६५ बाख्रा र २४ गाई–गोरुसमेत बगाएको छ ।

पहिरोले गाउँको बीच भाग हुँदै १८ घर बगाएपछि मल्लेसी गाउँ शोकमा डुबेको छ । यसरी एक्कासि पहिरोले गाउँ बगाएपछि मल्लेस गाउँका १८ परिवारको उठिबास भएको छ । स्थानीयवासी नरेश बोहराले भने, “शरीरमा लगाएका लुगा कपडाबाहेक सबै पहिरोले लग्यो । घरभित्रको खाद्यान्न, लत्ताकपडा, धन सम्पत्ति र गाई–गोरुसमेत सबै बगे । झण्डै २० रोपनी जग्गामा लगाएको धानबालीसमेत पुरेको छ ।”

जुइली गाड र सुङरी गाडको बीचमा रहेको उक्त गाउँ जानलाई आवतजावत गर्नसमेत समस्या छ । दुवै गाडमा अत्यधिक मात्रामा पानी भएपछि अरू गाउँसमेत जान समस्या छ । यो गाउँमा ९० परिवारको बसोबास छ । यस घटनामा क्षति भएका पीडित परिवारहरुलाई राहत दिनका लागी गृह मन्त्रालयसँग समन्वय भइरहेको प्रतिनिधिसभा सदस्य आशा विकले बताए । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले नेपाली सेनाको हेलिकप्टरबाट राहत सामग्री लिने कुरा भएको छ । अहिले शवमात्र निकाल्ने काम भइरहेकाले क्षतिको विवरण लिन बाँकी रहेको छ भने ।-रासस



प्रतिक्रिया दिनुहोस्