Logo

कारोना संक्रमित टर्च बालेर खोज्ने क्रम जारी छ– मन्त्री ढकाल



मुकुन्द कालिकोटे काठमाडौं, १२ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कारोना (कोभिड १९) बाट संक्रमितहरु कहाँ–कहाँ छन् टर्च बालेर खोजी–खोजी अस्पतालमा ल्याउने काम गरिरहको बताएका छन् । उनले सरकार कोरोना भाइरसविरुद्ध सशक्त ढंगले प्रस्तुत भइरहेको समेत बताएका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको १३१ औं वार्षिकोत्सवमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री ढकालले विश्वमा कोभिड १९ सँग लड्ने देश नेपाल हो भनेर सन्देश दिनको लागि पनि स्वास्थ्य मन्त्रालय युद्धस्तरमा लागिरहेको छ, मन्त्रालय कोभिडबाट संक्रमितहरुलाई टर्च बालेर खोज्दै अस्पतालमा ल्याउने गरेको दाबी गरेका हुन् ।

मन्त्री ढकालले भने, ‘नेपालमा कोरोना किन प्रवेश गरेन प्रवेश गर्यो, संक्रमितको सख्या किन बढेनन, कोरोना संक्रमणबाट किन मरेका छैनन् यस्ता प्रश्नहरु निकै झेलियो र झेल्दै पनि छौं त्यसकारण हामी एकताबद्ध भएर लड्नुपर्छ ।’

मन्त्री ढकालले कोरोना नियन्त्रणका लागि सरकारले सीमित स्रोत साधनका बाबजुत पनि प्रभावकारी रुपमा काम गरेको भएपनि नकारात्मक टिकाटिप्पणी र प्रचारबाजी भइरहेकोमा दुःख व्यक्त गरे ।

कोरोना महामारी नियन्त्रणको बिषयलाई राजनीतिक नगर्न आग्रह गर्दै कोरोनाले कुनै पार्टी वा जात नभन्ने उल्लेख गरे ।

मन्त्री ढकालले १३१ वर्ष पहिले हाम्रा अग्रहरुले वीर अस्पतालको जुन गुरु योजनाका साथ निर्माण गरे, हरेक हण्डर खाँदै, नथाकीकन हरेक परिवर्तनहरुलाई झल्दै अहिलेसम्म जुन प्रकारले काम गरिरहेको छ, अहिले पनि ७५ वटै जिल्लाका विरामीहरुले वीर अस्पतालकै सेवा खोजेको छ भन्दै राम्रा कामका लागि वीर अस्पताले बनाउने योजनामा सरकार सकारात्मक रहेको जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य राज्य मन्त्री नवराज दाहालले भने, वीर अस्पताल स्वास्थ्यको क्षेत्रमा जनताको मनमष्तिस्कमा पुग्न सकेको भन्दै जनताको सेवाको लागि जो जाहाँ भएपनि यो वीर अस्पतालसँग सिङ्गो देश जोडिएकाले सबैले आ–आफ्नो जिम्मेवारीसाथ काम पूरा गर्नुपर्छ ।

अस्पतालका निर्देशक डा। केदारप्रसाद सेन्चुरीले कोरोनाको कहरमा पनि अस्पतालका कर्मचारी, डाक्टरहरुले रातदिन खटेर काम गरिरहेको जानकारी दिँदै वीर अस्पतालको भावी कार्ययोजना प्रस्तुत गरेका थिए । तस्बिर: मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्