मलेसिया रोजगारी गुम्ने खतरा, २७५ म्यानपावरमाथि राज्यको व्यवहारले व्यवसायी त्रसित


काठमाडौं । मलेसियामा नेपाली कामदार पठाउने वैदेशिक रोजगार व्यवसाय नै संकटमा पर्न सक्ने भन्दै व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् ।

मलेसिया जाने कामदारको बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक तथा म्यानपावर व्यवसायी कैलाश खड्कालाई प्रहरीले आज पक्राउ गरेपछि व्यवसायीहरू थप त्रसित बनेका हुन् ।

व्यवसायीहरूले २७५ म्यानपावर कम्पनीमाथि राज्यले आतंक मच्चाएको आरोप लगाएका छन् । उनीहरूका अनुसार वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको प्रक्रिया सहज बनाउनु र व्यवसायीलाई काम गर्ने वातावरण दिनुपर्ने राज्यले उल्टै व्यवसायीलाई त्रसित बनाउने काम गरिरहेको छ ।

‘राज्यले हामीलाई आपराधिक काम गरेको जस्तो व्यवहार गर्‍यो,’ एक म्यानपावर व्यवसायीले भने, ‘हामीलाई राज्यले साथ दिनुपर्ने हो । तर, उल्टै लखेट्ने काम भइरहेको छ । यसरी काम गर्ने वातावरण नै नबनाइए व्यवसाय कसरी सञ्चालन गर्ने ?’

व्यवसायीहरूका अनुसार कुनै पनि व्यवसायीले गलत काम गरेको आशंका भए त्यसको छानबिन गर्नु राज्यको दायित्व हो । तर, छानबिनका नाममा समग्र व्यवसायीलाई त्रसित बनाउनेभन्दा सम्बन्धित पक्षलाई छलफलमा बोलाएर समस्या समाधानको बाटो खोज्नुपर्ने उनीहरूको तर्क छ ।

‘राज्यलाई हामीले केही गलत काम गरेको जस्तो लाग्छ भने छलफल गर्नुपर्छ, वार्तामा बोलाउनुपर्छ,’ ती व्यवसायीले भने, ‘तर, अहिले हामीलाई लखेट्ने काम भइरहेको छ । राज्यले हाम्रो कुरा सुन्ने र समस्या समाधान गर्ने वातावरण बनाउनुपर्छ ।’

मलेसिया नेपाली श्रमिकका लागि प्रमुख वैदेशिक रोजगार गन्तव्य मुलुकमध्ये एक हो । मलेसियामा हाल करिब ५ लाख नेपाली श्रमिकहरु रहेका छन् ।

Skip This