Logo

यो सरकार देखेर धिक्कार भन्नमात्रै मन लाग्छ : डा. दिक्षित



काठमाडौं, १७ साउन । चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरूले कोरोना संक्रमणको जोखिम बढेकोले आमनागरिकले आफ्नो व्यवहारमा परीवर्तन ल्याउनुपर्ने र आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै चिकित्सकहरुले कोरोना संक्रमणको जोखिम बढेकोले सरकारले अहिले पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने पनि माग गरेका छन् ।

नागरिक समाजका अगुवासमेत रहेका चिकित्सक डा. सुन्दरमणि दिक्षितले आफूहरुले यसअघि सरकारलाई सावधानी अपनाउन र कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवश्यक कदम चाल्न सुझाव दिएको भएपनि सरकारले भारतसँगको सिमा नाका बन्द नगरेको गुनासो पोखे । उनले भने,‘अहिले स्वास्थ्यकर्मीहरु काम छोडेर भागेको भन्ने कुरा आएको छ। तराईमा कोरोना संक्रमण ठूलो मात्रामा देखिएको छ । भारतसँगको सिमा नाका पूर्ण रुपमा बन्द गर्नुपर्छ भनेर हामी धेरैपटक चिच्याऔं । तर, सरकारले हाम्रो कुरै सुनेन ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले काठमाडौं उपत्यकापनि अहिले कोरोना संक्रमणको भयंकर जोखिममा परेको खतरा औंल्याए । उनले भने,‘काठमाडौं खाल्डो कोरोना संक्रमणको जोखिममा परिसकेको छ । अब हामीले परीणाम देख्दै जान्छौं ।’ उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आवश्यक कदम चाल्न नसकेको भन्दै उनले गुनासो पोखे ।

उनले कोरोना संक्रमण रोगमा परीणत हुँदै गएपछि मात्रै कदम चाल्दा ढिलाई हुने भन्दै नेपालमा कोरोनाको जोखिम निम्त्याउने कामपनि सरकारले नै गरेको गम्भीर आरोप लगाए । उनले भने,‘सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवश्यक कदम चाल्न सकेन् । पिसिआर टेस्ट जब बढाउनुपर्नेथियो, त्यतिबेला सरकारले परीक्षणको दायरा नै घटायो । हामीले त बारम्बार परीक्षणको दायरा बढाउ भनेर सरकारलाई भनेकै थियौं । तर, सरकार गम्भीर भएन् ।’

उनले पिसिआर परीक्षण गर्नको लागि सरकारलाई केले रोकेको थियो ? भनेर प्रश्नसमेत गरे । उनले भने,‘सरकारसँग पैसा छ, तर खर्च सकिरहेको छैन् ।’ तर, सरकारले जनस्वास्थ्यमा खेलबाड गरेको उनको आरोप छ । पछिल्लो समय विभिन्न ठाउँबाट काठमाडौं उपत्यका भित्रिनेको संख्या बढेको र उनीहरुले आवश्यक सतर्कता र नियम नअपनाएको पनि उनको गुनासो छ । उनले भने,‘काठमाडौं उपत्यका भित्रिने नाकाहरु व्यवस्थित् गर्नुपर्छ । काठमाडौं खतरामा छ ।’ डा. दिक्षितले कोरोना परीक्षण गर्दापनि रिपोर्ट दिन ढिलाई गरिरहेकोमा पनि गुनासो पोखे ।

सरकारले कोरोनाबारे दिने गरेको तथ्यांकलाई उनले बेकारको तथ्यांकको संज्ञा दिए । उनले भने,‘रियालिटी अर्कैछ । सरकारको काम भनेको त दुई वटा मात्रै हो, एउटा लकडाउन लगाउने र अर्को लकडाउन खोल्ने । त्योबाहेक सरकारले केही पनि जानेन । सरकारले दुई जिब्रे नीति अख्तियारी गर्यो ।’ उनले दुई तिहाई बहुमतको सरकार देखेर आफूलाई धिक्कार लागेको बताए ।

उनले कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दै गएकोले आम नागरिकले आँफैं सावधानी अपनाउनुपर्नेमा जोड दिए । नियमित मास्क लगाउने, हात धुने अथवा स्यानिटाईजेशन गर्ने, भौतिक दूरी कायम गर्ने (कम्तिमा साँढे चार फुट), ज्वरो अथवा रुघाखोकी लागेमा तुरुन्त चिकित्सकको सम्पर्कमा जानुपर्ने पनि उनले सुझाव दिए ।

डा. दिक्षितले कोरोनाको भाइरस सुरुमा नाकमा बस्ने भएकोले नियमित सफाई गर्ने र खासगरी नेपालको पूरानो प्राकृतिक चिकित्सा पद्धतीअनुसार जल नीति गर्नपनि सुझाव दिए । उनले जल नीतिबारे अहिले बेलायतमा खोज तथा अनुशन्धान भैरहेको र छिट्टै जर्नल नै प्रकाशन गर्न लागिएको पनि जनाए ।



प्रतिक्रिया दिनुहोस्