Logo

घरबाहिर निस्किएकाहरूले विशेष सावधानी अपनाऔं : डा. बास्तोला



काठमाडौं, १७ साउन ।  चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरूले कोरोना संक्रमणको जोखिम बढेकोले आमनागरिकले आफ्नो व्यवहारमा परीवर्तन ल्याउनुपर्ने र आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै चिकित्सकहरुले कोरोना संक्रमणको जोखिम बढेकोले सरकारले अहिले पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने पनि माग गरेका छन् ।

शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल टेकुका प्रवक्ता डा. अनुप बास्तोलाले कोरोना संक्रमणको जोखिमबाट बच्नको लागि आम नागरिक व्यवस्थित हुनुको विकल्प नभएको बताएका छन् । उनले अहिले लकडाउन खुलेपछि बाहिर निस्किएकाहरुले सावधानी अपनाउनुपर्ने बताए । उनले भने,‘बाहिर निस्किएकाहरुले मास्क लगाउनुपर्छ । रेगुलर हात धुनुपर्छ । फिजिकल डिस्ट्यान्स पालना गरौं ।’

सरुवा रोग विशेषज्ञसमेत रहेका प्रवक्ता डा. बास्तोलाले काठमाडौं उपत्यकामा संक्रिमतहरुको संख्या बढ्न थालेपछि आम मानिस त्रसित बनेको उल्लेख गर्दै सबैले सावधानी अपनाउनुपर्ने बताए । उनले भने,‘संक्रमितहरु जो उपचारमा हुनुहुन्छ, उहाँहरुलाई परिवारका सदस्यहरुले पनि भेट्न पाउँदैनन् । यो ईमोशनलाई पनि सबैले बुझ्नुपर्छ ।’ उनले कोरोनाविरुद्ध लड्ने हो भने सबैले आफ्नो मानवीय व्यवहारलाई परिवर्तन गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्