Logo

नेपालले नयाँ नक्शा भारतलाई समेत पठाउने



काठमाडौं, १८ साउन । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्शा भारतलाई पनि पठाउने भएको छ । संशोधित नयाँ नक्शा अन्तर्राष्ट्रिय समुदाय कहाँ पठाउन लागेकोमा भारतलाई पनि पठाउने भएको हो ।

भुमि व्यवस्थामन्त्री पद्मा अर्यालले समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै नयाँ नक्शा भारतसहित अन्तर्राष्ट्रिय समुदायलाई अगष्टको दोस्रो हप्ताभित्र पठाउने जानकारी दिएकी हुन् । उनले एएनआईसँग भनेकी छिन् , हामी कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको सशोधिन नक्शा युएन एजेन्सीहरुका अलावा भारतसहितको अन्तर्राष्ट्रिय समुदायलाई पठाउँदैछौं । यो प्रक्रिया यसै महिनाको मध्यसम्म पूरा हुनेछ ।

भारतले नेपालले समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्शामा विरोध गर्दा गर्दै उसैलाई नक्शा पठाउने तयारी गर्नुलाई अर्थपूर्ण मानिएको छ । भारतले यो नक्शा लिने हो या होइन चासोको विषय बनेको छ ।

यसैगरी, नयाँ नक्शा जारी भएको भन्दै संयुक्तराष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय समुदायसम्म पुठाउन लागेको भन्दै भारतीय मिडियामा प्राथमिकताका साथ खबरहरु छापिएका छन् । टाइम्स अफ इन्डियाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले युएनसम्म नयाँ नक्शा पठाउन लागेको खबर छापेको छ । तर, नक्शा युएनमा पुर्याएपनि नेपाललाई कुनै उपलब्धि हासिल नहुने दाबी गरेको छ । युएनले सीमा विवादसम्बन्धी यस्ता विषयहरुबाट आफूलाई टाढै राख्ने गरेको टाइम्स अफ इन्डियाको दाबी छ ।

अंग्रेजीमा नयाँ नक्शा ४ हजार प्रति छापिएको र अन्तर्राष्ट्रिय समुदाय कहाँ पठाउन लागिएको खबर छ । २५ हजार प्रति नेपाली भाषामा छापिइसकेको र त्यो सरकारी निकायहरुमा पठाइएको छ । प्रति नक्शा रुपैयाँ ५० मा खरिद गर्न सकिने नापी विभागले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्