Logo

लामाको उपचार गरिदिन र उचित क्षतिपूर्तिको माग



काठमाडौँ, २५ साउन । पत्रकार एवं कलाकार देव लामा बचाउ अभियान तथा संघर्ष समितिले ग्रिनसिटी अस्पतालले पत्रकार देव लामाको शल्यक्रिया गलत तरिकाले गरेको र पीडित परिवारको अत्यधिक रकम खर्च गराएको आरोप लगाएको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो आरोप लगाएको हो ।

का.म.पा बडा नम्बर १४ निवासी पत्रकार देव लामाको गत वर्ष बैशाख ८ गते आफ्नै निवासमा शौचालय जाने क्रममा लडेर टाउकोमा चोट लागेको र उपचारको क्रममा परिवारले वीर अस्पताल लैजाउँ भन्दाभन्दै एम्बुलेन्स चालकले जबरजस्ती ग्रीन सिटी अस्पताल लगेर भर्ना गराएको समितिको भनाई छ । ग्रिनसिटीमा लामाको टाउकाको शल्यक्रिया गरिएको र शल्यक्रियाको चार महिनापश्चात् पनि विरामीको स्वास्थ्यमा कुनै सुधार नआएको परिवारको भनाई थियो ।

कार्यक्रममा पीडित लामाकी श्रीमती मिरा जोशी लामाले आफूलाई अस्पतालले चार महिनाको अवधिमा यातना मात्र दिएको बताइन् । उनले भनिन्,‘उपचारमा लाग्ने सम्पूर्ण खर्च मैले अस्पताललाई उपलब्ध गराएँ । तर, मेरो बुढाको शल्यक्रियापश्चात पनि उहाँको अवस्थामा केही सुधार देखिएन ।’

अनियमित रकम खर्च गराएर अस्पतालले आफूहरुलाई वेवास्ता गरेको विषयमा समेत उनले जानकारी गराइन् । उनले चिकित्सक संघ, नेपाल मेडिकल काउन्सिललगायत अन्य सम्बन्धीत निकायलाई यस विषयमा छानविन गर्दै कडा कारवाहीको माग गरेकी छिन् ।

कार्यक्रममा संघर्ष समितिका सल्लाहकार रमेश रायमाझी, समितिका संयोजक प्रल्हाद प्याकुरेल र सदस्य प्रकाश गजुरेलले आफूहरुले पटक पटक अस्पतालसँग वार्ता गरेको तर आजसम्म कुरा नमिलेको जनाएका थिए । र, उनीहरुले लामाको उपचार र उचित क्षतिपूर्ति अस्पतालले दिनुपर्ने माग गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्