Logo

बलात्कार अभियोगमा एसएसपी जेल चलान



पोखरा, २७ साउन । एक युवतीलाई आफ्नो क्वाटरमा खाना खान बोलाएर बलात्कार गरेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका एसएसपी राजेन्द्रकुमार अधिकारीलाई मंगलबार पूर्पक्षका लागि थुनामा पठाइएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश दीपककुमार खरेलको इजलासले अधिकारीलाई थुनामा राखेर मुद्धाको पूर्पक्ष गर्ने आदेश गरे बमोजिम उनी कास्की जिल्ला कारागार चलान भएका हुन ।

पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम नै हुने हुँदा हाल प्रतिवादी राजेन्द्रकुमार अधिकारीलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ (१) बमोजिम मुद्दा पुर्पक्षका लागि थुनामा राख्न भनिएको छ ।

पोखराको लामापाटनमा रहेको सशस्त्र प्रहरी बलको हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयका प्रमुख अधिकारीमाथि एक महिलालाई आफ्नै क्वार्टरमा बोलाएर जबरजस्ती गरेको अभियोग थियो । महिलाको उजुरीका आधारमा कास्की प्रहरीले असार ३१ (घटना भएकै दिन) मा अधिकारीलाई पक्राउ गरेको थियो । प्रहरीले घटनाको अनुसन्धान गरी गत बिहीबार जिल्ला न्यायाधिवक्ताको कार्यालय कास्कीमा पेश गरेको थियो । न्यायाधिवक्ताको कार्यालयले आइतबार जिल्ला अदालतमा पेश गरेको थियो ।

घटना भएको दिन दिउँसो ३ बजेतिर कन्ट्रोल रुममा २७ वर्षीया एक युवतीले रुँदै आफूलाई अधिकारीले खाना खान बोलाएर जबरजस्ती गरेको मौखिक उजुरी दिएकी थिइन् । प्रहरीले अधिकारीलाई झाडीमा लुकेको अवस्थामा कार्यालय परिसरमै भेटाएको थियो । अधिकारीको घटनाको अघिल्लो दिनमात्र सरुवा भएको थियो । युवतीसँग पैसाको विवादका कारण पनि त्यो दिन उनीहरुबीच कुटाकुट भएको थियो ।



प्रतिक्रिया दिनुहोस्