Logo

भारतद्वारा मालदिभ्सलाई ५० करोड डलरको ‘ग्रेटर माले’ आयोजनाका लागि सहयोग घोषणा



एजेन्सी, ३० साउन । यो मालदिभ्समा अहिलेसम्मकै ठुलो विकास आयोजना हुनेछ । ५० करोड डलरको ‘ग्रेटर माले कनेक्टिभिटी प्रोजेक्ट’मा भारतले सहयोग गर्ने भएको छ । भारतीय विदेश मन्त्री डा. एस. जयशंकर र मालदिभ्सका विदेशमन्त्री अब्दुल्ला सइदबीचको भिडियो कन्फरेन्सको कुराकानीपछि भारतीय विदेश मन्त्रालयले हिजो त्यसको घोषणा गरेको हो ।

पूर्वाधार विकासमा भारतले घोषणा गरेको ५० करोड डलर खर्च हुनेछ । कुल खर्चमध्ये १० करोड अनुदान र ४० करोड ऋण सहयोग हुनेछ । उक्त रकम राजधानी मालेलाई भिलिंगिली, गुल्हीफाहु र थिलाफुसी गरी तीनवटा टापुसँग जोड्ने पुल निर्माणमा खर्च हुनेछ ।

यसैगरी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मालदिभ्ससँगको सम्बन्धलाई हिन्द महासागर जत्तिकै गहिरो भनेका छन् । उनले हिजो मालदिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलीको ट्वीटलाई रिट्वीट गर्दै यस्तो भनाई सार्वजनिक गरेका हुन् । यसअघि सोलीले भारतबाट २५करोड डलर बजेट सहयोग र ५० करोड डलर ग्रेटर माले कनेक्टिभिटीको योजनामा आएको सहयोगका लागि धन्यवाद दिएका थिए ।

भारतको छिमेकसँगको सम्बन्धलाई प्रगाढ बनाउन पछिल्लो सहयोग घोषणा गरेको हो । दक्षिण एशियामा भारतबाहेकका देशको लगानी बढ्न थालेपछ उसले पनि लगानी वृद्धि गर्न थालेको छ ।



प्रतिक्रिया दिनुहोस्