Logo

महामारीको मौका छोप्दै बीपी प्रतिष्ठानको सिनेट आज



काठमाडौं, ३० साउन । स्वास्थ्य मन्त्री एवं वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति भानुभक्त ढकालको अध्यक्षतामा आज काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सिनेट बैठक बस्न बस्दै छ । बीपी प्रतिष्ठानको जग्गा व्यापारीलाई सुम्पने सेटिङका आधारमा सिनेटमा प्रस्ताव लगिएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ को दफा ४ को उपदफा ३ मा प्रतिष्ठानले व्यक्तिसरह चल/अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेचबिखन गर्न वा अन्य किसिमले व्यवस्था गर्न सक्ने उल्लेख छ । त्यही प्रावधानको दुरुपयोग गर्दै प्रतिष्ठानको स्वामित्वमा रहेको जग्गा आफू निकट व्यापारी घरनालाई दिने बाटो खोलिएको भन्दै प्रतिष्ठानकै पदाधिकारीहरुबीच असन्तुष्टि चुलिएको छ ।

कार्यकारिणी समितिले सिनेटबाट स्वीकृत गराउँनका लागि तयार पारेको प्रस्ताव नम्बर ४ मा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ को दफा ४ को उपदफा ३ मा प्रतिष्ठानले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेचबिखन गर्न वा अन्य किसिमले व्यवस्था गर्न सक्ने प्रावधान रहे अनुरुप प्रतिष्ठानको स्वामित्वमा भएको सुनसरीको धरानस्थित छाताचौकको जग्गा, मोरङ जिल्लाको सुन्दरहरैचौकस्थित रहेको जग्गा काठमाडौं र भक्तपुर जिल्लामा रहेको जग्गा र चल अचल सम्पत्तिमा पूर्वाधार संरचना तथा सेवा क्षेत्रमा स्वदेशी तथा विदेशी निजी क्षेत्रसमेतको लगानीको माध्यमबाट नवीन प्रविधि, गुणस्तरीय सेवा, व्यवस्थापकीय कुशलता एवं लगानीमैत्री वातावरण निर्माण गर्दै प्रतिष्ठानको आर्थिक विकास र समृद्धिमा योगदान पुर्याउन निजी क्षेत्रसँग साझेदारी गर्ने उल्लेख छ । व्यापारीहरुलाई प्रतिष्ठानको जग्गा उपभोग गर्न दिने उद्देश्यले सहकुलपति एवं स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र उपकुलपति ज्ञानेन्द्र गिरीले उक्त प्रस्ताव तयार पार्न जोडबल गरेको कार्यकारिणी समितिका सदस्यहरु बताउँछन् । प्रतिष्ठाको अबौं रुपैयाँको जग्गा केही व्यापारीहरुसँगको मिलेमतोमा कौडीको भाउमा दिने उद्देश्यले सार्वजनिक निजी साझेदारीको नाम दिइएको ती सदस्यहरुको आरोप छ

प्रतिष्ठानको कार्यकारिणी समितिले सिनेटमा पेश गर्नका लागि तयार पारको मदन भण्डारी मेमोरियल ट्रमा सेन्टर स्थापना सम्बन्धी प्रस्ताव पनि विवादमा तानिएको छ । नेपाली कांग्रेस प्रदेश नम्बर १ का संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले वीपी प्रतिष्ठान अस्तित्वप्रति खेलबाड गर्नेगरी उक्त प्रस्ताव आएको भन्दै सिनेट बैठकले सच्याउनुपर्ने बताए । उक्त प्रस्ताव पारित भए त्यसलाई आफूहरुले स्वीकार नगर्ने उनको भनाइ छ ।

कार्यकारिणी समितिले तयार पारेको प्रस्ताव नम्बर २ मा नेपाल सरकारको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेटमा प्रस्तुत विभिन्न राजमार्ग छेउमा ट्रमा सेन्टर स्थापना गर्ने कार्यक्रमलाई आत्मसात गर्दै पूर्व पश्चिम राजमार्ग, मध्य पहाडी राजमार्ग, उत्तर दक्षिण राजमार्ग लोकमार्गको केन्द्रबिन्दु वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको सन्दर्भमा मोफसलबाटसमेत सुपरस्पेसियालिटी सेवाहरुको उच्चतम् तहमा माग भइरहेको परिप्रेक्ष्यमा यस क्षेत्रका जनतालाई विविध सेवामार्फत स्वास्थय सेवा सुनिश्चित गर्ने उद्देश्य अनुरुप बढ्दो ट्रमासम्बन्धी बिरामीलाई मध्यनजर गर्दै अल्पायुमै ट्रमामापरी आफ्नो ज्यान गुमाउँनु भएका जननेता मदन भण्डारीको सम्झनामा पूर्वी नेपालमा नमूना आधारभूत र रिफरल केन्द्रको रुपमा मदन भण्डारी मेमोरियल ट्रमा सेन्टर स्थापना उद्देश्यका साथ कार्ययोजना अघि बढेकोले स्वीकृतिका लागि प्रस्ताव पेश गरेको उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेटमा अनुसार राजमार्ग छेउमा ट्रमा सेन्टर स्थापना गर्ने कार्यक्रम अघि बढाउनु पर्नेमा वीपीका उपकुलपति गिरीले स्वास्थ्यमन्त्री ढकाल र प्रधानमन्त्री ओलीलाई खुसी पार्न स्वास्थ्य मन्त्रालयको क्षेत्राधिकार मिचेर आफैं ट्रमा सेन्टर स्थापना गर्न लागेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

समयानूकुल हुनेगरी आवश्यक विभिन्न नियमावली निर्माण गर्नका लागि नयाँ मस्यौदा समिति गठन गर्ने प्रस्ताव नम्बर ५ मा उल्लेख छ । प्रतिष्ठानको रजिष्ट्रारमा मोहनचन्द्र रेग्मीको नियुक्तिको वैधानिकताको विषयमा विवाद उत्पन्न भएपछि त्यसलाई वैधानिकता दिन प्रपञ्चमा साथ हतारमा नियमावली संशोधन गर्न लागिएको प्रतिष्ठानका अधिकारीहरु बताउँछन् ।

कार्यकारिणी समितिबाट सैद्धान्तिक सहमित प्राप्त सिनेटमा प्रस्तुत हुने ९ एजेन्डाहरु :

प्रस्ताव नम्बर १. वीपी कोइराला स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्भाव्यता अध्ययन कार्यदल सम्बन्धी प्रस्ताव
प्रस्ताव नम्बर २. मदन भण्डारी मेमोरियल ट्रमा सेन्टर स्थापना सम्बन्धी प्रस्ताव
प्रस्ताव नम्बर ३. मानव अंग प्रत्यारोपण केन्द्र स्थापना सम्बन्धी प्रस्ताव
प्रस्ताव नम्बर ४. प्रतिष्ठानको स्वामित्वमा रहेका चल तथा अचल सम्पत्ति उपभोगीय नीति सम्बन्धी प्रस्ताव
प्रस्ताव नम्बर ५. आर्थिक वर्ष २०७६÷०७७ को खर्च अनुमोदन सम्बन्धी प्रस्ताव
प्रस्ताव नम्बर ६. वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आर्थिक वर्ष २०७७÷०७८ को बजेट तथा कार्यक्रम सम्बन्धी प्रस्ताव
प्रस्ताव नम्बर ७ . वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नियमावली मस्यौदा समितिसम्बन्धी प्रस्ताव
प्रस्ताव नम्बर ८. पुनरावेदन आयोगको सदस्यहरु मनोनयन सम्बन्धी प्रस्ताव
प्रस्ताव नम्बर ९. २०० बेडको कार्डियाक भवन र २०० बेडको अंकोलोजी भवन निर्माण सम्बन्धी प्रस्ताव
प्रस्ताव नम्बर १० धन्यवाद ज्ञापन सम्बन्धी प्रस्ताव



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम