Logo

सांसद बस्नेतको नेतृत्वमा भक्तपुरमा चार सय आयोजनाहरु निर्माणाधिन



काठमाडौं, २६ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको नेतृत्वमा भक्तपुरमा साना तथा ठूला गरेर चार सय आयोजनाहरु निर्माणको क्रममा रहेका छन् । जनताको सेवामा खरो उत्रिने सांसद बस्नेत एक्सन ओरिएण्टेड नेताको रुपमा पनि चिनिन्छन् । कतिसम्म भने बस्नेतले विकास निर्माणलाई आफ्नो जीवनकै अभिन्न अंगजस्तै मानेर आफूलाई सो भूमिकामा खरो उतारेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको नारालाई साकार पार्नको लागि बस्नेतले आफ्नो ठाउँबाट महत्वपूर्ण योगदान पुर्याएका छन् । प्रधानमन्त्री ओलीको भीजनलाई साकार पार्ने कुरामा कुनै कसर बाँकी नराख्ने उनको सार्वजनिक प्रतिबद्धता छ । विकासका आयोजना तथा बजेटको व्यवस्था गर्नेमात्र नभई त्यसको निर्माण सम्पन्नता, गुणस्तरियता, स्थायीत्वलगायतका कुराहरुमा उनले कुनै सम्झौता गरेका छैनन् ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पारिएसँगै सांसद बस्नेतले आफूलाई पूनः सक्रिय बनाउन सुरु गरेका छन् । उनले विकास निर्माणका आयोजनालाई निर्धारित समयमा नै गुणस्तरिय ढंगले सम्पन्न गर्न आफु, आफ्नो सचिवालय, स्थानीयवासीलगायत सम्बन्धीत निकायलाई सक्रिय बनाएका छन् । आजमात्रै सांसद बस्नेतको प्रमुख उपस्थितिमा मनोरम नगर समाजद्वारा मध्यपुर थिमी नगरपालिका वडा नं १ को टिकाथली जाने निलो पुलदेखि राम मन्दिरसम्मको हनुमन्ते कोरिडोरको करिव ५०० मिटर क्षेत्रफलमा, समाजकै विभिन्न संघ संस्था र व्यक्तिहरुको सहयोगमा उपलब्ध एभोगाडा र म्याकाडिएन नट ९जापानिज ओखर० फलफुलका १५० वटा बिरुवाहरु सहयोगी दाताहरु बाटै स्याहारसुसार गर्ने गरी वृक्षरोपण सम्पन्न गरिएको छ ।

सोही स्थान नजिकै हुनमन्ते तथा मनोहरा नदीको संगम स्थल मनोहरा दोभानमा सांसद बस्नेतकै पहलमा काठमाडौँ, ललितपुर तथा भक्तपुर जोड्ने ठूलो पक्की पुल समेत बन्ने क्रममा रहेको छ । त्यस्तै उहाँकै पहलमा कोटेश्वर जडिबुटीमा दैनिक रुपमा घण्टौंसम्म हुने सवारी जामलाई अन्त्य गर्न वेलिव्रीजको समेत निर्माण भइसकेको छ । उक्त वेलिव्रीज सञ्चालनमा आएसँगै सवारी जामको साथ साथै अरनीको राजमार्गमा हुने सवारी दुर्घटना समेत केही मात्रामा कम हुँदै गएको छ । त्यस्तै उहाँकै पहलमा कोटेश्वर जडिबुटीको सवारी जामलाई दिर्घकालिन रुपमा अन्त्य गर्न उक्त स्थानको सडक चौडाई वृद्धि तथा हनुमन्ते र मनोहराको कोरिडोरको निर्माण कार्यले समेत व्यापक मात्रामा तिव्रता पाएको छ ।

उक्त वृक्षारोपण कार्यक्रममा स्थानीयवासीले खानेपानी, सडक, ढल, विद्युत पोल विस्तार, वातावरण सुन्दरता, प्राकृतिक मनोरम, पार्क निर्माणलगायतका धेरै कामहरुको लागि बजेटको आवश्यकता रहेकोले त्यसको सम्बोधन गरीदिन माग समेत गरेका छन् । जनता माग नै आफ्नो माग भएकाले आवश्यकतालाई मध्यनजर गर्दै आवश्यक बजेटको व्यवस्थापन गर्ने सांसद बस्नेतले प्रतिवद्धता जनाएको उनको सचिवालयले जनाएको छ । सांसद बस्नेतले भक्तपुरमा निर्माणको क्रममा रहेका कुनै पनि आयोजनाको लागि बजेटको अभावले नरोकिने उल्लेख गर्दै हनुमन्ते कोरिडोरसँग सँगै गोदावरी कोरिडोर समेत निर्माणको क्रममा रहेको जानकारी गराएका थिए ।

उक्त स्थानका ८ मिटरका सम्पूर्ण सडकहरु कोलोपत्रे भइसकेको उल्लेख गर्दै उनले कोरोनाले नेपालको अर्थतन्त्रमा गम्भिर समस्या पैदा नभए अबका दिनमा बजेटको थप व्यवस्था गरी ६ मिटरका सडकहरु समेत कालोपत्रे हुने बताए । उक्त स्थानमा शान्ति सुरक्षा कायम गर्न स्थानीयवासीद्वारा प्रहरी चौकीको व्यवस्था गरिदिन अनुरोध भएकोमा आफ्नो ध्यान गएको बताउँदै उनले आगामी दिनमा प्राथकिताका साथ चौकी स्थापना तथा त्यसको व्यवस्थापन गर्न आवश्यक बजेटको पहलकदमी गर्ने प्रतिवद्धता जनाए । तस्विर : बस्नेतको फेशबुक पेजबाट 

 



प्रतिक्रिया दिनुहोस्