Logo

भारतद्वारा नेपाल सरकारलाई कोरोनाविरुद्धको औषधी रेमडेसिभिर उपहारस्वरुप प्रदान (फोटोफिचर)



काठमाडौं, ३० भाद्र । भारतले नेपाललाई कोभिड–१९ विरुद्ध लड्न २००० भाइल रेमडेसिभिर उपहारस्वरुप प्रदान गरेको छ । भारत सरकारको तर्फबाट भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई आज दुई हजार भाइल रेमडेसिभिर औषधी हस्तान्तरण गरेका हुन् ।

कोभिड–१९ को विश्वव्यापी महामारीले निम्त्याएको चुनौती सामना गर्न भारत सरकारले नेपाललाई गरिरहेको सहयोग अनुरुप उक्त औषधी हस्तान्तरण गरेको भारतीय राजदुतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यसअघि भारतले वैशाख १० गते प्यारासिटामोल, हाइड्रोक्लोरोक्विन लगायतका अत्यावश्यक औषधी, जेष्ठ ४ गते कोभिड–१९ टेष्ट कीट आरटी–पीसीआर र श्रावण २५ गते आइसीयू भेन्टिलेटर जस्ता स्वास्थ्य सामग्री भारतले नेपाललाई सहयोग स्वरुप प्रदान गरेको थियो । निकटतम मित्र तथा छिमेकीको हैसियतले कोरोना महामारी विरुद्धको लडाईमा भारत नेपाल सरकार र नेपालीको साथमा रहेको दुतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

अक्सिजन थेरापीमा रहेका मध्यमदेखि गम्भीर प्रकृतिका बिरामीहरुको उपचारमा प्रयोग गरिने रेमडेसिभिर एक प्रभावकारी औषधी हो । चिकित्सा अध्ययनका अनुसार यो औषधीको प्रयोगले बिरामीहरुको अस्पताल बसाई अवधि र रोगबाट निको हुने समयलाई कम गर्न उल्लेखनीय रुपमा सघाउ पुर्याउँछ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्