Logo

यसकारण बढ्यो प्याजको मूल्य, भारतले निर्यात नखोले अझै बढ्नसक्ने



काठमाडौं, २ असोज । कालिमाटी बजारमा आज प्याजको थोक मुल्य प्रतिकेजी ११० रुपैयाँ छ । तीन दिन अघि सम्म प्रतिकेजी ५० देखि ६० रुपैयाँमा पाइने प्याज रातारात मूल्यवृद्धि भई एक सय रुपैयाँ नाघेको हो । आखिर किन प्याजको मूल्यवृद्धि भयो । २३ अर्ब ३१ करोड भारतीय रुपैयाँको प्याज निर्यात गरेको थियो । जसमध्ये ४ प्रतिशत नेपालमा निर्यात भएको तथ्यांक छ । यसको अर्थ नेपाल भारतसँग प्याजमा निर्भर छ ।

देशमा चाँडबाँडको मौसम शुरु हुँदैछ । उपभोक्ताको भान्छामा प्याजको माग बढिरहेको छ । माग बढ्दै जानु र आपूर्ति कम हुनु पनि मूल्य वृद्धिको कारण हो । त्यो अवस्था आउनुमा मुख्य दुई कारण छ । नेपाली बजार प्याजमा भारतसँग बढी निर्भर छ । नेपालमा स्वदेशमै उत्पादित प्याजपछि भारतबाट आयातित प्याजको माग बढी छ ।

एपीइडीएका अनुसार भारतले आर्थिक वर्ष २०१९२० मा कुल निर्यातको ४ प्रतिशत नेपालमा प्याज निर्यात गरेको थियो । यो साँढे ४ करोड केजी प्याज हो । जसको मूल्य ९० करोड भारतीय रुपैयाँभन्दा बढी हुनआउँछ । यसको अर्थ नेपालले गत वर्ष डेढ अर्ब नेपाली रुपैयाँ बराबरको प्याज निर्यात गरेको छ । नेपाल भारत खुल्ला सीमा भएकाले अन्य मार्गबाट पनि ठुलो परिमाणमा प्याज भित्रने गर्छ । यसको कुनै लेखाजोखा छैन ।

तर, भारतमा प्याजको माग बढेलगत्तै निर्यात बन्द गरिएको छ । भारतले प्याज निर्यात गर्दै आएको देशहरुमध्ये बँगलादेश, मलेशियालगायतमा तुरुन्त मूल्य वृद्धि भएको छ । बँगलादेशमा ५० प्रतिशतले प्याजको मूल्य वृद्धि भएको छ । नेपालमा पनि झण्डै शत प्रतिशतले मूल्यवृद्धि भइसकेको छ । यसको मुख्य कारण भारतबाट प्याज निर्यात रोकिनु, स्थानीय उत्पादन कम हुनु, भण्डारण नहुनु र कालोबजारी पनि मुख्य कारण हो ।

भारतमा प्याजको अभाव हुनथालेलगत्तै नेपाली बजार यसपटक प्रभावित भइसकेको थियो । व्यापारीले प्याज लुकाउन थालिसकेका थिए । कालोबजारी शुरु भइसकेको थियो । अहिले सरकारले कालोबजारी गर्नेलाई धमाधम कारबाही गर्ने भनेपनि मूल्य एक सय कटिसकेको छ । भारतले आजबाट नै प्याज निर्यात गर्न दिएपनि स्थानीय बजार अझै एक महिना प्रभावित हुने निश्चितप्रायः छ । चाँडबाँडको बखत उपभोक्तालाई मारमा पार्ने व्यवसायीको शैली र नियत विगत देखि नै देखिएको हो ।

नेपालमा प्याजको उत्पादन कम हुँदै जानु, भारतसँग प्याजमा बढी निर्भर हुनु, व्यवसायीले मौका पारेर प्याजको कृत्तिम अभाव सृजना गर्नु, चाँडबाँडमा प्याजको कालोबजारी हुनुले पनि मूल्य चर्को हुनेगरेको हो । सरकारले कालोबजारी नियन्त्रण गर्न नसक्नु, प्याजको भण्डारण व्यवस्था नहुनु र किसानहरुमा प्याज उत्पादनप्रति आकर्षण नहुनुले पनि उपभोक्ता मारमा पर्ने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्