Logo

यी हुन् भारतको गोप्य सामाग्री ‘चिनियाँ गुप्तचर’लाई बेचेको आरोपमा पक्राउ परेका नेपाली युवक



एजेन्सी, ३ असोज । यी हुन् राज बोहरा । शेर सिंह भनिने नेपाली युवक राज बोहरालाई आज दिल्ली प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बोहरा एकजना चिनियाँ महिला किङ सीसहित पक्राउ परेका हुन् । उनलाई किङ सीको सहयोगी भनिएको छ । दुवैजना एमज फार्मेसी नामक कम्पनिको निर्देशक रहेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । दुवैजना चिनियाँ गुप्तचरलाई भारतको संवेदनशील सुचना विक्री गरेको अभियोगमा दुई दिन अघि पक्राऊ परेका पत्रकार राजीव शर्मासँग जोडिएका छन् । शर्मा भारतका स्वतन्त्र पत्रकार हुन् ।

दिल्ली प्रहरीको हवाला दिदै इन्डियन एक्सप्रेसले शनिबार दुईजना पक्राउ परेको उल्लेख गरेको छ । चिनियाँ र नेपाली नागरिकले स्वतन्त्र पत्रकार राजीव शर्मालाई संवेदनशील सुचना दिएवापत् ठुलो रकम तिरेको खबर इन्डियन एक्सप्रेसले अनलाइन संस्करणमा प्रकाशित गरेको छ । पत्रकार शर्मालाई चिनियाँ गुप्तचरका लागि सुचना संकलन गर्न प्रयोग गरिएको आरोप लगाइएको छ । उनले प्रत्येक सुचनावापत् रु पाँच सय भारु लिने गरेको आरोप छ ।

सन् २०१९ यता राजीव शर्माले ३० लाख भारतीय रुपैयाँ प्राप्त गरिसकेको भनिएको छ । इन्डियन एक्सप्रेसले प्रहरीको भनाई उदृत गर्दै ठुलो परिमाणमा मोबाइल फोन, ल्यापटप र अन्य संवेदनशील सामाग्री बरामद भएको जनाएको छ ।-Photo Source: Delhi Police



प्रतिक्रिया दिनुहोस्