Logo

भारतीय खसीबोका भित्रिँदा नेपाली किसान मारमा



काठमाडौं, असोज २२ । नेपाल–भारत खुला नाकाबाट अवैध रूपमा भारतीय खसीबोका नेपाली बजारमा भित्रिने गरेको पाइएको छ । परीक्षणबिना नेपाली बजारमा भारतीय खसीबोका अवैध रूपमा बजारमा आउँदा नेपाली खसीबोका व्यवसाय मर्कामा परेका छन् ।

कैलाली लंकीका खसीबोका व्यवसायी दल्सी साहीले रौतहट बोटव, सिन्धुलीलगायतका खुला नाकाबाट दैनिक ३ सय देखि ४ सय खसीबोका अवैध रूपमा आउने गरेको दाबी गरे । भारतबाट भन्सार छली अवैध रूपमा आएका खसीबोका प्रतिकेजी नेपाली भन्दा सस्तो पर्ने भएकाले पनि नेपालमा उत्पादन भएका खसीबोकाले बजार नपाएको उनको भनाइ छ ।

खसीबोका व्यवसायी शाहीका अनुसार भारतबाट आयात खसीबोकाको प्रतिकेजी ५ सय ३० रुपैयाँ पर्छ भने नेपालमा उत्पादन भएको खसीबोका प्रतिकेजी ६ सय ३० देखि ६ सय ५० रुपैयाँसम्म पर्ने गर्छ । उनले नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने सरकारले भारतबाट अवैध रूपमा आउने खसीबोकालाई रोक्नुपर्ने बताए ।

काठमाडौं चौपाया खरिद बिक्री सेवा संघका संरक्षक दीपक थापाले विभिन्न नाकाबाट अवैध रूपमा काठमाडौंको कंलकीको खसी बजारमा ३ सय देखि ४ सयसम्म खसीबोका आउने गरेको बताए । नेपाली र भारतीय व्यापारीको मिलेमतोमा भारतबाट भन्सार छली अवैध रूपमा दैनिक ३ सय देखि ४ सय खसीबोका काठमाडौं उपत्यकामा भित्रिँदा नेपालमा उत्पादन भएका खसीबोका बिक्री वितरण हुन छोडेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्