काठमाडौं, २४ असोज । सरकार र अनशनरत डाक्टर गोविन्द केसीका प्रतिनिधिबीच रातभरमै सहमति निकाल्ने तयारी भएको छ । यसका लागि आजकै राति वार्तामा बसी टुंगोमा पुग्ने तयारी भएको छ ।
वार्ताका लागि गठित दुवै टोलीबीच मध्यरातमै सहमति खोज्ने प्रयास भइरहेको छ । सम्भवत आजै वार्ता हुनसक्ने बुझिएको छ । सरकारका तर्फबाट वार्ता टोलीका संयोजक शिक्षा सचिव गोपीनाथ मैनालीले सहमति बन्ने गरी वार्ता हुने विश्वास व्यक्त गरे । राती नै सहमति निकालिने प्रयास भइरहेको जानकारी दिए ।
डाक्टर केसीका तर्फबाट वार्ताको प्रतिनिधि तोकिएका टोलीका सदस्य अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार वार्ता मध्यराति गरेर भएपनि सहमति खोज्न तयार भएको बताए । उनले वार्ताको टेबुलमा बसेर राति नै सहमति निकाल्ने प्रयास भइरहेको बताए । उनले भने, ‘राति नै वार्ता गरेर भएपनि सहमति निकाल्न हामी तयार भएका छौं ।’
यसअघि दुईपटककको वार्ता सहमति ननिकाली टुंगिएपछि डाक्टर केसीको अनशन जारी छ । २७ औं दिन अनशनमा बसिसक्दा पनि सहमति ननिस्किएपछि उनको जीवन रक्षाका लािग सरकारमाथि चौतर्फी दबाब बढेको छ । डाक्टर केसीको माग पूरा गर्न भन्दै स्वास्थ्यकर्मीहरुले आइतबारबाट आकस्मिक र कोभिड १९ को उपचारबाहेकको सम्पूर्ण सेवा ठप्प पार्न आव्हान गरिसकेका छन् । सरकारमाथि डाक्टर केसीको ज्यानै लिने नियत राखेको भन्दै उनको पक्षका वार्ता टोलीका सयोजक डाक्टर जीवन क्षेत्रीले प्रेस विज्ञप्ति निकालेर संघर्षका लागि आग्रह गरेका छन् ।
यसअघि वार्तामा सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनाली र डाक्टर गोविन्द केसीका तर्फबाट डाक्टर जीवन क्षेत्री छन् भने डाक्टर केसीका तर्फबाट शिक्षा सचिव गोपीनाथ मैनालीसहित स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा छन् ।-फाइल तस्वीर




प्रतिक्रिया