Logo

लिभिङ टुगेदरका दौरान प्रेमिकाकी छोरी ताक्दा विवाद अनि विभत्स हत्या



वीरगंज, २७ असोज । गत हप्ता गङ्गोल खोलामा विभत्स तरीकाले हत्या गरेकी महिलाको परिचय खुलेसँगै अभियुक्त समेत पत्ता लागेका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट हत्याको कारण समेत पत्ता लगाएको छ ।

हत्या भएकी महिला मैरुन नेसा हुन् । उनको घर भारत हो । हत्याको कारण अभियुक्त सैफुल खान पठानसँगको सम्बन्ध र त्यसपछि उत्पन्न विवाद रहेको बुझिएको छ । अभियुक्तले महिलासँग सम्बन्ध राख्दै आएको र उनकी छोरीमाथि पनि गलत क्रियाकलाप गर्न थालेपछि विवाद भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय, पर्साले दुवै सँगै बस्दै आएकोमा विवाद बढ्न थालेको समेत अनुसन्धानबाट पत्ता लगाएको छ ।

मैरुन असोज २१ गते गङ्गोल खोलामा विभत्स तरीकाबाट हत्या गरी फालिएकी थिइन् । उनको घर भारत, उत्तरप्रदेश भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

मैरुन नेसाको सनाखत उनकै छोरी १८ वर्षीया छोरी तरन्नु खातुनले गरेको प्रहरीले जनाएको छ ।

नेसाको हत्यापछि फरार रहेका ३० वर्षीय सैफुल खान पठानलाई पर्सा जिल्लाको कालिकामाई गाउँपालिका–२ मस्जिदबाट सोमवार पक्राउ गरिएको जिप्रका पर्साले जनाएको छ ।

पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तका अनुसार पक्राउ परेका पठान र मृतक मैरुन हेटौंडामा घरभाडा लिएर पतिपत्निसरह बस्दै आएका थिए । तर छिमेकीले मैरुनको सम्बन्ध अरुसँग रहेको पठानलाई भनेपछि दुवैबीच विवाद भएको थियो । पठानले उनकी छोरी खातुनमाथि गलत क्रियाकलाप गर्न थालेपछि मैरुनले छोरीलाई वीरगंजको रानीघाटमा भाडा लिएर बसाएकी थिइन् । दुवैबीच विवाद भएपछि पठानले मैरुनको हत्या गरी हातखुटा बाधेर पर्साको गंगोल नदीमा फालेको एसपी पन्तले बताइन् ।



प्रतिक्रिया दिनुहोस्