Logo

त्रिशूली देवी मन्दिर सर्वसाधारणका लागि खुला



जलेश्वर, १ कात्तिक: बडा दशैँको घटस्थापनासँगै महोत्तरी जिल्लाको जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रख्यात त्रिशूली देवीको मन्दिर आजदेखि सर्वसाधारणको दर्शन तथा पूजाआजाका लागि खोलिएको छ ।

प्रत्येक वर्ष दशैँको दश दिन मात्र खुल्ला रहने यो मन्दिर घटस्थापनादेखि सर्वसाधारणको दर्शन तथा पूजाअर्चनाका लागि खोलिएको मन्दिरका पूजारी उपेन्द्र पाठकले बताए । दशैंभरिका लागि मात्रै खुल्ला रहने यस मन्दिरमा आज बिहानदेखि दर्शनार्थीहरुको घुँइचो लागेको छ । त्रिशूल धारण गरेकी त्रिशूली देवी भवानीको मन्दिर वर्षभरि खोलिँदैनन् भने उनको प्रतिमा वर्षभरि कसैले हेर्न वा छुन पाउँदैनन् । तर दशैँमा पुजारीले उनको दश दिनसम्म विशेष पूजाआजा गर्ने, सर्वसाधारणले माताको दर्शन गर्न पाउने र भेटीसमेत चढाउन पाउने व्यवस्था रहेको पुजारी पाठकले बताए ।

महोत्तरीलगायत धनुषा, सिरहा, सर्लाही जिल्ला र भारतको सीतामढी तथा मधुवनी जिल्लामा यो मन्दिर निक्कै प्रख्यात रहेको छ । त्यहाँ नेपाल तथा भारतका विभिन्न जिल्लाबाट हजारौँ भक्तजन दर्शनका लागि आउने गरेका छन् ।

दशैँमा त्रिशूली देवीको पूजा र दर्शन गर्न नपाएका भक्तजन पुनः वर्षभरि माताको मन्दिर खुल्ने प्रतीक्षा गर्नुपर्ने हुन्छ त्यसैले दशैंभरि त्रिशूली देवी मन्दिरमा ठूलो भीड लाग्ने तथा लाखाँैको भेटी र प्रसाद चढाइने गरिन्छ । त्रिशूली मन्दिरमा भाकल गरेको कुरा पूरा हुने जनविश्वास रहेको र वर्षमा एकपटक मात्रै माताको दर्शन हुने हुँदा सर्वसाधारणको आस्थाको केन्द्र बनेको छ ।-रासस



प्रतिक्रिया दिनुहोस्