Logo

गुह्येश्वरी गर्भगृहको दुई किलो सुन गायब !



–पूर्णप्रसाद मिश्र काठमाडौँ, ६ कात्तिक: गुह्येश्वरी मन्दिरमा १७३.५ तोला सुन अनियमितता भएको तथ्य फेला परेको छ । पशुपति क्षेत्र विकास कोषले गुह्येश्वरी मन्दिर गर्भगृह मर्मत सम्भार गर्ने क्रममा अष्टदल र भैरवको मूर्तिमा रहेको १७३.५ तोला अर्थात् करिब दुई किलोभन्दा बढी सुन अनियमितता भएको भेटिएको हो ।

अष्टदलको मूर्तिमा साविकमा ३७९ तोला सुन थियो । मर्मत सम्भार गर्ने क्रममा निकालेर जोख्दा २९४ तोलामात्र भेटिएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो । अष्टदलमा ८५ तोला सुन अनियमितता भएको भेटिएको छ । यसैगरी भैरवको मूर्तिमा साविकमा ३३४ तोला सुन भएकामा मर्मत सम्भारका क्रममा निकालेर जोख्दा २४५.५ तोलामात्र पाइएको छ । भैरवको मूर्तिबाट ८८.५ तोला सुन गायब भएको छ ।

“साविकको सुन गायब भएपछि रु दुई करोड ११ लाख खर्च गरी कोषले सुन थपेर अष्टदल र भैरवको मूर्ति पुनःनिर्माण गरेको छ, सुनका दुवै संरचना विसं २०५७ मा निर्माण भएको हो, १८÷१८ वर्षमा सवा दुई करोडको सुन अनियमितता भयो भने यो रकम कसले व्यहोर्ने ?” – उहाँले भन्नुभयो ।

गुह्येश्वरी मन्दिर कोष मातहत नै भएपनि यहाँको व्यवस्थापन गुठी संस्थानले गठन गरेको समितिले गर्दै आएको छ । द्वैध स्वामित्वका कारण मन्दिरमा बेला बेलामा विवाद आउने गरेको छ । व्यवस्थापन समितिका अध्यक्ष सुमित खड्गी गुह्येश्वरी मन्दिरमा अण्डा, जाँड, रक्सी जस्ता तामसी चीज पनि चढाइने भएकाले सुन खिइएर गएको दावी गर्नुहुन्छ ।

कोषले व्यवस्थापन समिति र पुजारीलाई समेत विसं २०७५ भदौ ६ गते नै सुन गायब भएको विषयमा सत्य तथ्य खुलाउन भनी पत्राचार गरेको थियो । समिति र पुजारीबाट चित्तबुझ्दो जवाफ नआएपछि छानबिन समिति बनाएर यससम्बन्धमा गहिरिएर अध्ययन गर्न लागिएको कोषाध्यक्ष थापाले बताउनुभयो ।

सुनको खिइएर बनेको टुक्रासमेत नदेखाइएकाले छानबिन गर्न लागिएको हो । अण्डा, जाँड, रक्सीले सुन खिइएको भए प्वाल परेको, खिया लागेको हुनुपर्नेमा त्यस्तो समेत नभेटिएको कोषले जनाएको छ । छानबिन समितिमा संस्कृति, पर्यटन नागरिक उड्डयन मन्त्रालय, संस्थानलगायत सरोकार भएका निकायका प्रतिनिधिसमेत राख्ने गृहकार्य भइरहेको छ ।

यस क्रममा १८ वर्षको अवधिमा दुई किलोभन्दा बढी सुन अण्डा, जाँड, रक्सीले खिइन्छ कि खिइन्न भनी प्रयोगशालामा परीक्षण समेत गरिने भएको बुझिएको छ । अष्टदल एवं भैरवको मूर्तिमा समितिका पदाधिकारी र पुजारीको नाम राख्न कोषलाई दबाब दिइएको थियो । नाम नराखिएपछि समितिले अष्टदल स्थापना गर्ने साइत निस्केन भन्ने निहुँमा राख्न दिएको छैन । मर्मत सम्भार गरिएको अष्टदल र भैरवको मूर्ति घटस्थापनाका दिन गर्भगृहमा स्थापना गर्ने कोषको तयारी थियो । समितिले अहिले साइत निस्किएन एक महिनापछि मात्र राख्नुपर्छ भनी पन्छाएका छन् ।

गुह्येश्वरीका सत्तलसमेत कोषले नै पुनःनिर्माण गरेको हो । रु २० करोडको लागतमा मन्दिर, सत्तललगायत ऐतिहासिक एवं धार्मिक महत्वका संरचना पुनःनिर्माण गरिएको हो । पुनःनिर्मित सत्तल समितिले अनधिकृत रुपमा उपयोग गर्दै आएको छ । समितिका पदाधिकारीले आफन्तलाई यहाँ बास समेत दिएको कोषको भनाइ छ ।

गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेको अष्टदलमा कोषले ७५ किलो चाँदीको घेरा थप गरेको छ । मन्दिरमा मर्मत सम्भार एवं पुनःनिर्माण कोषले गर्ने तर त्यसको दुरुपयोग समिति र पुजारीका तर्फबाट भएकाले गुह्येश्वरीको समग्र विषय छानबिन गर्ने कोषको तयारी छ । गुह्येश्वरीका नाममा रहेको अन्य सम्पत्ति समेत छानबिनको दायरमा आउने भएको छ ।

पशुपति क्षेत्रमा रहेको सबै मठ मन्दिरको व्यवस्थापन गर्ने कार्यक्षेत्र पशुपति क्षेत्र विकास कोष ऐनले दिएको तीन दशक बितिसक्दा पनि कार्यान्वयन हुन सकेको छैन । गुह्येश्वरी क्षेत्र र चाबहिल क्षेत्रका मठमन्दिर कोष मातहत आउन सकेका छैनन् । चन्द्रविनायक मन्दिर क्षेत्रमा पनि गैरसरकारी संस्थाको रजाइँ भइरहेको छ ।

यसका कारण ती मठमन्दिर र त्यससँगैको सार्वजनिक जग्गामा अनियमितता भएको स्थानीयवासीको गुनासो छ । कोषका सदस्यसचिव डा प्रदीप ढकाल पशुपति क्षेत्रका सबै मठमन्दिर कोष मातहत नै ल्याउने, नियमावली बनाई भेटीघाटी पारदर्शी गर्नेलगायतका तयारी भएको बताउनुहुन्छ ।

यस पटक पर्व पूजा रोकियो

गुह्येश्वरी मन्दिरमा ऐतिहासिक राजा मानदेवका पालादेखि नै घटस्थापनाका दिनदेखि अमालकोट कचहरी कार्यालयका तर्फबाट पूजा, चण्डी पाठ गर्ने परम्परा रहेको स्थानीयवासी एवं कोषका पुराना कर्मचारीको भनाइ छ । पशुपति क्षेत्रका सांस्कृतिक सम्पदाका विषयमा विद्यावारिधि शोध गर्नुभएका कोषका पूर्वसदस्यसचिव डा गोविन्द टण्डन यससम्बन्धी ऐतिहासिक दस्तावेज, शिलालेख लगायत केही पनि प्रमाण फेला नपरेको बताउनुहुन्छ ।

शाहकाल अर्थात् विसं १९७४ देखि भने नियमित घटस्थापनाका दिनदेखि महानवमीसम्म अमालकोट कचहरीबाट पूजा आराधना हुँदै आएको उहाँ बताउनुहुन्छ । यस वर्ष घटस्थापनाका दिन कात्तिक १ गते विशेष पर्व पूजा गर्र्न कोषाध्यक्ष थापाको नेतृत्वमा पुजारी विष्णुप्रसाद नेपाल, कचहरीका द्वारे पूर्ण डङ्गोल, कर्मचारी वरुण खतिवडासहित चारजना मन्दिरभित्र प्रवेश गर्न खोज्दा पुजारी जैन कर्माचार्यले रोकेको कोषले जनाएको छ ।

कोष स्थापनापछि अमालकोट कचहरी कार्यालय कोष मातहत राखिएको थियो । अमालकोट स्थापना भएदेखि नै राज्यका तर्फबाट गुह्येश्वरी मन्दिरमा विशेष पर्व पूजा, दुर्गा सप्तशती (चण्डी) पाठ गराउने परम्परा थियो । कोषमा ३५ वर्षदेखि कार्यरत कर्मचारी वासुदेव रिमाल राज्यका तर्फबाट गरिने पूजा रोक्दा धार्मिक आस्थामा चोट पुग्ने र देशलाई असर गर्न सक्ने बताउनुहुन्छ ।

गुह्येश्वरीमा धर्म, संस्कृति एवं परम्परा मास्ने, भेटीघाटी लगायत आय पारदर्शी नराख्ने, ऐतिहासिक स्थलको संरक्षण गर्नुको सट्टा मासेर अनियमितता गर्ने क्रम बढेको कोषको आरोप छ । विसं २०६६ मा पशुपतिनाथ मन्दिरको भेटीघाटी पारदर्शी गर्ने गरी नियमावली ल्याउँदा नै यस क्षेत्रका सबै मठ मन्दिरलाई यो दायरामा ल्याउने प्रतिबद्धता भने कोषले अझै पूरा गर्न सकेको छैन । संस्थान र कोषको दुईथरी स्वामित्व हुँदा कतिपय मठमन्दिरमा हाल नित्य पूजा समेत हुन छोडेको छ । सदस्यसचिव ढकाल यो प्रतिबद्धता छिटो पूरा गर्ने तयारी भएको बताउनुहुन्छ ।-रासस



प्रतिक्रिया दिनुहोस्