महाधिवेशन सार्नेबारे हाई–कमाण्डको बैठकमा कुनै निर्णय भएको छैन् : डा. महत


काठमाडौं, २३ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री डा. रामशरण महतले पार्टीको हाई–कमाण्डको बैठकले महाधिवेशन सार्ने वा नसार्ने भन्नेबारे केही निर्णय नगरेको स्पष्ट पारेका छन् । आज विहा नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘महाधिवेशन अब एक/दुई महिना सर्न सक्छ, तर यो वर्खामा अगाडि, असारभन्दा अगाडि हुनुपर्छ भन्नेमा नेताहरु छन्, यही डेट भन्ने चाहीँ छैन् । तर, धेरै विचार के छ भने अहिले नै महाधिवेशन सार्ने काम चाहीँ नगरौं भन्ने नै छ । फागुनमा गर्न नसकिए ढिलोमा जेठसम्म गरौं भन्नेमा धेरैको सहमति देखिन्छ।’ पार्टीभित्र आफूहरुले उठाएका बुँदाहरुमाथि छलफल गरेर सहमति निकाल्नुपर्नेमा महतले जोड दिए । उनले आफूहरु अहिलेपनि समाधान र परीणाम निस्किएला भन्ने आशा रहेको सुनाए । उनले भने,‘मूल कुरा विधानअनुरुप काम हुनुपर्छ । सही व्यक्तिलाई सही भूमिका र जिम्मेवारी दिनुपर्छ ।’