Logo

दोलखा भीमसेनलाई पसिना आयो, अनिष्टको खतरा !



चरिकोट, ९ मंसिर । दोलखास्थित भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ । आज दिउँसो दुई घन्टा पटक पटक पसिना आएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

पहिलोपटक एक घन्टा भन्दा बढी पसिना आएको र पछि दोहोर्याएर पनि पसिना आएको स्थानीयले जानकारी दिए । मन्दिरमा पसिना आएपछि जिल्ला प्रशासन कार्यालय दोलखाका अधिकारी, सुरक्षा अधिकारीहरु मन्दिर पुगेका थिए । उनीहरुले पनि मन्दिरको दर्शन गरेका थिए ।

यसैगरी, जिल्ला प्रशासन कार्यालय दोलखाले प्रेस विज्ञप्ति जारी गरी भीमेश्वर मन्दिरको शिलामा मध्यान्ह पौने २ बजेदेखि पटक पटकको समयमा पौने ४ बजेसम्म पसिना आएको जानकारी दिएको छ । सो समयमा प्रचलित परम्परा अनुसार मन्दिरका पुजारी तथा गुठियारहरुले पुजा पाठ गरेको जनाइएको छ ।

कोरोना भाइरसको कारण मन्दिर बन्द छ । तर, पसिना आएपछि पूजारीले खबर गरेका थिए । शिलाको पसिना पुछ्न प्रयोग भएको कपास लिनेको घुइँचो लागेको थियो ।

दोलखा भीमसेनलाई पसिना आएपछि देशमा अनिष्ट हुने विश्वास गरिन्छ । अनिष्ट हुन नदिन क्षमता पूजा गर्ने चलन छ । विगतमा राजाले क्षमा पूजा गर्ने प्रचलन रहेकोमा गणतन्त्र स्थापनापछि राष्ट्रपतिद्वारा क्षमा पूजाको प्रचलन छ । जिल्ला प्रशासन कार्यालय दोलखाले भीमेश्वर मन्दिर पुजा व्यवस्थापन समितिका पदाधिकारीहरुसँग बैठक गरी राष्ट्र प्रमुख समक्ष महाप्रसाद पठाउने चलिआएको परम्परा अनुसार भोलि नै पठाउने व्यवस्था मिलाइएको जानकारी दिएको छ ।

पछिल्लोपटक दोलखा भीमसेनलाई २०७४ सालमा दुईपटक पसिना आएको थियो । १९९०, २००७, २०२८ र २०७० सालमा दोलखा भीमसेनलाई पसिना आएको बताइन्छ ।

फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्