Logo

दाहालको अडानले दबाबमा ओली



काठमाडौं, मंसिर १७ । लिखित रूपमा आरोपप्रत्यारोपमा उत्रेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षमध्ये केपी शर्मा ओली मंगलबारको सचिवालय बैठकभरि निकै दबाबमा परे। सचिवलाय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदा ओलीमाथि दबाब सिर्जना भएको हो।

बैठकको सुरुमै ओलीले कात्तिक २८ गते दाहालले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल हुन नसक्ने, त्यसलाई फिर्ता गरेर माफी माग्नुपर्ने र अहिल्यै बैठक बस्नुको औचित्य नभएको बताएपछि एकछिन तनाव उत्पन्न भएको थियो। ‘बैठकमा प्रस्तुत भएको प्रतिवेदनमाथि छलफल गर्न नपाइने भए किन बैठक बस्नु? बैठकको अर्थ के हो?’ भनेर कड्किँदै दाहालले प्रश्न गरेपछि ओलीले २८ गतेको प्रतिवेदन राजनीतिक नभई व्यक्तिगत आरोपपत्र भएको र त्यसमा धेरैजसो शब्द तथा लाञ्छना हेर्दा फौजदारी कानुन आकर्षित हुने देखिएकाले त्यसमा छलफल हुन नसक्ने बताएका थिए। तर दाहालले छलफल हुनैपर्ने अडान राखेपछि उनीहरूबीच भनाभन नै भएको थियो।

‘उहाँहरूबीच निकै वादविवाद भयो त्यसपछि वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेलले जेजे आरोप भए पनि तिनका बारेमा छलफल गर्ने थलो सचिवालय बैठक नै भएको बताएपछि ओलीले दाहाललाई बोल्न दिएका थिए,’ बैठकपछि सचिवालयका एक सदस्यले भने। सुरुमै ओलीले ‘तपाईंहरू यहाँ झगडा गर्न आउनुभएको हो कि सहमतिसहित बैठक गर्न आउनुभएको हो ? आजको एजेन्डा के हो? भनेर दाहाललाई प्रश्न गरेका थिए। ‘बाटो विग्रहको हिँड्ने, कुरा सहमतिको गर्ने रु बाटो विग्रहको हो कि सहमतिको हो, क्लियर हुनुप(यो,’ ओलीले भनेका थिए। जवाफमा दाहालले आफूहरूसँग धैर्य र संयम रहेको भन्दै धेरै उत्तेजित नबनाउन सुझाएका थिए। ‘बाटो सहमतिकै हो तर तपार्इंले जे व्यवहार देखाउनुभएको छ, त्यसले नेपाली कम्युनिस्ट आन्दोलन र जनतालाई निराशातर्फ धकेलेको छ,’ दाहालले भनेका थिए।

‘सबैले बैठकमै आ–आफ्ना कमीकमजोरी र अहंकारबारे धारणा राखौं। कमजोरी कहाँकहाँ भयो, खोजौं। बैठक नै नबस्ने, कुराकानी नै नगर्ने, एकपछि अर्को कमजोरी गर्दै जाने हो भने समस्या समाधान हुँदैन,’ वरिष्ठ नेता नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

ओलीले दाहाल बोल्दै गर्दा रोक्न खोजेपछि फेरि तनाव उत्पन्न भएको थियो। ‘त्यतिबेला दाहालले हाम्रो हैसियत समान हो, तपाईं पनि अध्यक्ष, म पनि अध्यक्ष, बैठकमा नबोले कहाँ बोल्ने भनेपछि ओली रोकिएका थिए,’ बैठक स्रोतले भन्यो। ओलीले दाहाललाई खुमलटार पुगेर साथीहरूलाई एउटा कुरा गर्ने, बालुवाटार आएर अर्को कुरा गर्ने, तपाईंको चरित्रले पार्टीमा विग्रह ल्याउन खोजेको भनेपछि दाहाल पनि कड्किएका थिए। त्यसपछि बैठक अवधिभरि नै ओली दबाबमा परेको स्रोतले बताएको छ। सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेलले केही धारणा नराखेपछि मंगलबारको बैठकमा दाहालले धेरै कुरा राखेका थिए।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्