Logo

लुम्बिनी प्रदेशमा आठ सय घरेलु हिंसा



तुलसीपुर, १९ मङ्सिर: लुम्बिनी प्रदेशमा पहिलो चौमासिकमा ८२३ घरेलु हिंसा भएका छन् । प्रदेश प्रहरी कार्यालय दाङले प्रदेशका १२ जिल्लामा ८२३ घरेलु हिंसा भएको जनाएको छ । यो वर्ष विगतका वर्षभन्दा हिंसाका घटनामा कमी आएको प्रदेश प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

चालू आर्थिक वर्ष २०७७-७८ को कात्तिकसम्ममा सबैभन्दा बढी बाँकेमा घरेलु हिंसा भएका छन् । कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार बैदवारका अनुसार बाँकेमा २७२, रुपन्देहीमा १६१, कपिलवस्तुमा ९१, नवलपरासीमा ८२, दाङमा ५६ घरेलु हिंसाका घटना भएका छन् ।

त्यस्तै बर्दियामा ३८, रोल्पामा ३४,अर्घाखाँचीमा ३२, गुल्मीमा २६, पाल्पामा १४, प्यूठानमा १३ र रुकुमपूर्वमा चार वटा घरेलु हिंसाका घटना भएका छन् । वरिष्ठ प्रहरी उपरीक्षक बैदवारका अनुसार घरेलु हिंसा सबैभन्दा बढी कृषि क्षेत्रमा आश्रय रहेका परिवारमा हुने गरेको पाइएको छ । उहाँका अनुसार कृषिमा आबद्ध परिवारका ४७७, गृहिणी २६८, ज्यामी २७, विद्यार्थी नौ, बेरोजगार १३, व्यापारी २०, कर्मचारी आठ र वैदेशिक रोजगारी एक जना रहेका छन् ।

बैदवारका अनुसार हिंसापीडित हुनेमा ७३६ महिला रहेका छन्, भने ८७ जन पुरुष रहेका छन् । सबैभन्दा बढी २६ देखि ३५ वर्ष उमेरमा हिंसा भएको पाइएको छ । यस्तै १६ देखि ३५ वर्षका ३७६, १६ देखि २५ वर्षसम्मका २२५, ३६ देखि ४५ वर्षसम्मका २०५, ४६ देखि ६० वर्षसम्मका १२३ जना हिंसापीडित बनेका छन् । बैदवारका अनुसार महिला हिंसामा २४९ जना महिला अभियुक्त छन् भने ६९६ पुरुष अभियुक्त रेहका छन् ।

सबैभन्दा धेरै जबर्जस्ती करणीका १५५, जबर्जस्ती करणी उद्योगका ५१, बहुविवाहका ४४, बालविवाहका चार, बोक्सीको आरोपमा छ, जातीय छुवाछूतका तीन, अप्राकृतिक मैथुन तीन, बालयौन दुराचारका १०, अवैद्य गर्भपतनका दुई, मानव बेचबिखनका छ र घरेलु हिंसाका मुद्दा दर्ता एक वटा दर्ता भएका छन् । लुम्बिनी प्रदेश मातहतका १२ जिल्ला र ५३ इलाका प्रहरी कार्यालय गरी जम्मा ६५ प्रहरी एकाइबाट सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए ।

चालकसँग कुराकानी अभियान

प्रदेश प्रहरी कार्यालयले चालकसँग कुराकानी अभियान पनि शुरु गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले प्रदेशका १२ वटै जिल्लामा सोे कार्यक्रम सञ्चालन गरेको हो । मङ्सिर १४ गतेदेखि सो अभियान शुरु भएको वरिष्ठ प्रहरी उपरीक्षक वैदवारले बताए।

चालकलाई प्रशिक्षण, व्यवसायीसँग समन्वय, सवारी साधनको जाँच, सवारी साधनको यान्त्रिक व्यवस्था, अधिक भार, तीब्र गति, मादकपदार्थ सेवन परीक्षण गर्ने कार्य पनि भइरहेको छ । यो अभियान १५ दिनसम्म चल्ने बताइएको छ ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्