Logo

करोडौं मूल्य पर्ने मन्दिरको जग्गा व्यक्तिका नाममा



वीरगन्ज, मंसिर २१ । वीरगन्ज महानगरपालिकाको मुख्य व्यापारिक केन्द्र घण्टाघर नजिक रहेको करोडौं मूल्य पर्ने मन्दिरको सार्वजनिक जग्गा व्यक्तिले आफ्नो नाममा गराएर घर बनाउन थालेपछि स्थानीयले विरोध जनाएका छन् । मन्दिरको ७ धुर जग्गा नसिमा खातुनले मालपोत कार्यालयबाट आफ्नो नाममा रजिस्ट्रेसन पास गराएकी हुन् ।

मन्दिर र मन्दिरको जग्गा रहेको वडा नम्बर ८ का वडाध्यक्ष राजकिशोर गुप्ता खातुनले आफ्नो नाममा पास गराएको जग्गा मन्दिरको सार्वजनिक जग्गा नै भएको बताउन्छन् । मन्दिरको जग्गा सार्वजनिक हुने र त्यो खरिद–बिक्री गर्नै नमिल्ने भन्दै भू–माफियाहरुले रकमको चलखेल गरी ४–४ पटकसम्म किन–बेच गराएको अवस्था भेटिएको उनले बताए । वडाध्यक्ष गुप्ताले खातुनले जग्गामा निजी संरचना निर्माणका लागि नक्सापासको सिफारिस माग्न वडा कार्यालय आउँदा आफूले मन्दिरको जग्गामा नमिल्ने भन्दै फर्काइदिएको स्पष्टीकरणसमेत दिए ।

मन्दिरको जग्गाको कागजात संकलन गरेर राखेका स्थानीय युवा रञ्जित साहले करोडौैं मूल्यको जग्गामा आँखा लगाएर भू–माफियाले मन्दिरको जग्गा जालसाजी गरी निजी बनाउन खोजेको बताए । जग्गा मन्दिरकै हो भनेर प्रमाणित गर्ने सबै सरकारी कागजपत्र आफूसँग सुरक्षित रहेको भन्दै उनले मन्दिरको जग्गा र सम्पत्ति संरक्षणका लागि आफूहरु जस्तोसुकै कदम उठाउन पनि तयार रहेको जनाए ।

महानगरपालिकाको वडा नम्बर ८ मा पर्ने घण्टाघर नजिकको शिवा हस्पिटल रोडमा अवस्थित सुवर्ण मन्दिरको नाममा १ कट्ठा ११ धुर २ कनवा जग्गा छ । त्यसमध्ये ७ धुर जग्गा खातुनले मालपोत कार्यालयबाट आफ्नो नाममा रजिस्ट्रेसन पास गराएकी हुन् ।

मन्दिरको उक्त सार्वजनिक जग्गामा खातुनले बिहीबार राति रातारात एस्काभेटर लगाएर जग खनेपछि शनिबार बिहान वडाध्यक्षसहितका स्थानीयले त्यहाँ पुगेर विरोध जनाएका थिए । शुक्रबार बिहान वडअध्यक्ष, हिन्दूवादी अगुवा र स्थानीयको भीडले निर्माण कार्यमा अवरोध गरेपछि केही बेर तनावसमेत भएको थियो । सम्भावित झडपलाई मध्यनजर गरी मन्दिरको उक्त जग्गामा प्रहरी पनि परिचालन गरिएको थियो ।

मन्दिरको नाममा रहेको सार्वजनिक जग्गा, निजी व्यक्तिको नाममा रजिस्टेसन पास हुनै नसक्ने भन्दै स्थानीयले मन्दिरको जग्गामा निजी संरचना बनाए त्यसले ठूलो दुर्घटना निम्त्याउने चेतावनी पनि दिएका छन् । मन्दिरको नाममा रहेको सार्वजनिक जग्गा, भू–माफियाले मालपोत र नापी शाखाका कर्मचारीको मिलोमतोमा फर्जी तरिकाले आफ्नो नाममा गराएको स्थानीयको भनाइ रहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्