Logo

अतिरिक्त शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्न माग



काठमाडौं, पुस २९ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले नियम विपरीत अतिरिक्त शुल्क लिने वीरगञ्जस्थित नेशनल मेडिकल कलेजलाई कारबाही गर्न माग गरेको छ। नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले मंगलबार विज्ञप्ति जारी गरी अतिरिक्त शुल्क नतिरेको भन्दै दुई विद्यार्थीलाई एमबिबिएसको परीक्षा दिन रोकेर विद्यार्थीको भविश्यमाथि खेलवाड गर्ने कलेज र त्यसका सञ्चालकलाई कारवाही गर्न माग गरेका हुन्।

छात्रवृत्ति पाएका विद्यार्थीलाई बस्न र खानबाहेक अन्य कुनै शीर्षकमा रकम नलिन विश्वविद्यालय अनुदान आयोगले स्पष्ट व्यवस्था गरिसकेको अवस्थामा जबर्जस्ती रकम असुल गर्नका लागि परीक्षामा सामेल हुन नदिनु दुःखद् भएको उनले बताए। नेविसङ्घले परीक्षा दिनबाट वञ्चित गरिएका रामजी राम र पङ्कज रामलाई तत्काल पुनः परीक्षाको व्यवस्था मिलाउन त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थान र डीनको कार्यालयसँग मागसमेत गरेको छ।

नेविसङ्घका महामन्त्री दीपक भट्टराईले सरकारी छात्रवृत्तिमा अध्ययनरत दुई दलित विद्यार्थीलाई शुल्क नतिरेको भन्दै एमबिबिएस चौैथो वर्षको परीक्षा दिनबाट वञ्चित गर्नु निन्दनीय भएको बताए। उनले यस्ता मेडिकल कलेजका सञ्चालकलाई सरकारले कडा कारवाही गर्नुपर्दछ भने। रासस



प्रतिक्रिया दिनुहोस्