Logo

भारतले नेपालसहित मित्र देशहरुलाई २ करोड डोज भ्याक्सिन दिने



ऋषि धमला, नयाँ दिल्ली । भारतले नेपालसहित मित्र देशहरुलाई कोरोना भाइरसविरुद्धको भ्याक्सिन दिने भएको छ । उसले भ्याक्सिनको प्राथमिकतामा नेपाललाई पनि राखेको छ ।

आज परराष्ट्रमन्त्रीस्तरीय नेपाल भारत संयुक्त आयोगको बैठकमा भ्याक्सिन दिने प्रतिवद्धता व्यक्त भएको छ । राजदूत निलाम्बर आचार्यले भ्याक्सिनबारे महत्वपूर्ण कुराकानी भएको जानकारी दिएका छन् । भ्याक्सिन अनुदान र सुपथ मूल्य गरी दुवै तरिकाले नेपालले पाउने गरी भारतले प्रतिवद्धता जनाएको उनले बताए । यसपटकको संयुक्त आयोगको बैठकमा भ्याक्सिन नै प्राथमिकतामा परेको थियो ।

नेपालसँग खुल्ला सीमा भएकाले पनि भारतले नेपाललाई भ्याक्सिनको प्राथमिकतामा राखेको हो । परराष्ट्रमन्त्रीस्तरीय आयोगको बैठकमा स्वास्थ्य सचिव लक्ष्मण अर्याल पनि सहभागी थिए । भारतले भ्याक्सिन दिने प्रतिवद्धता जनाएलगत्तै औषधी व्यवस्था विभागले सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्डलाई आकस्मिक प्रयोगको अनुमति दिएको खबर आएको थियो ।

सेरमले उत्पादन गरेको भ्याक्सिन भोलिबाट भारतमा प्रयोग हुँदैछ । यसको दुई हप्ताभित्र भारतले भ्याक्सिन छिमेकलाई प्रदान गर्ने तयारी गरेको छ । कोरोनाविरुद्धको भ्याक्सिन निर्यातको अनुमतिको पर्खाइमा सेरम रहेको छ ।

यसैगरी, टाइम्स अफ इन्डियाले भारतले शुरुमा २ करोड डोज भ्याक्सिन छिमेकलाई प्रदान गर्ने खबर प्रकाशित गरेको छ । भारतको राज्यद्वारा सञ्चालित कम्पनिले सेरम र भारत बायोटेकबाट उत्पादन भएको भ्याक्सिन खरिद गरी नेपाल, बङ्गलादेश, श्रीलंका, अफगानिस्तान, सिसेलिस र मौरिससलाई प्रदान गर्ने उल्लेख छ । केही भ्याक्सिन निःशुल्क र भारतले अनुदानका रुपमा दिन लागेको छ ।

पहिलो ब्याचको भ्याक्सिन अबको दुई हप्ताभित्र छिमेकलाई प्रदान गरिसक्ने लक्ष्य राखेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । भ्याक्सिनलाई भारतले रणनीतिक रुपमा पनि महत्व दिएको छ । उसले भारतका निकै नजिकका छिमेकीलाई भ्याक्सिन दिन लागेको छ ।



प्रतिक्रिया दिनुहोस्