Logo

भारतका कारण गरिब देशहरुमा धमाधम भ्याक्सिन



काठमाडौं, ८ माघ । विश्वभर युरोपेली युनीयनका देशहरुका अलावा १८ देशहरुमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन चलिरहेको छ । ती देशहरु सबै बलियो आर्थिक अवस्थाका छन् । अहिलेसम्म धनी देशहरुले मात्र भ्याक्सिन पाइरहेको विषय विश्व स्वास्थ्य संगठनले समेत उठाएको छ । धनी देशहरुले आफ्नै छिमेकीलाई पनि भ्याक्सिन दिइरहेका छैनन् । पैसा तिर्छु भन्दा पनि भ्याक्सिन नपाइरहँदा भारतले भने छिमेकी देशहरुलाई निःशुल्क भ्याक्सिन पठाएको छ ।

ऊ यस्तो देश बनेको छ जसले विश्वकै ठुलो भ्याक्सिन अभियान मात्र शु्रु गरेन छिमेकी देशहरुलाई पनि भ्याक्सिन दिएको छ । भारतका छिमेकी देशहरुमध्ये नेपालसहित भुटान, बँगलादेश, म्यानमार, श्रीलंका र मालदिभ्सले भ्याक्सिन पाएका छन् । सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड भ्याक्सिन धमाधम छिमेकी देशहरुमा पुर्याउन भारत जुटेको छ । उसले आफ्नै देशमा पनि पहिलो चरणमा ३ करोड भ्याक्सिन लगाउने क्रम चलाइरहेको छ ।

अहिलेसम्म विश्वमा साँढे ५ करोड व्यक्तिले भ्याक्सिन लगाएको ब्लुमवर्गको तथ्यांक छ । अब भारतले आफू र आफ्ना छिमेकीलाई भ्याक्सिन दिएपछि यो संख्या ह्वात्तै बढ्ने भएको छ ।

भारतले कोरोना भाइरसविरुद्धको भ्याक्सिन आफ्ना मित्र देशहरुलाई प्राथमिकताका साथ भ्याक्सिन प्रदान गर्न थालेको हो । भुटानले डेढ लाख र मालदिभ्सले एक लाख डोज भ्याक्सिन निःशुल्क पाएका छन् । नेपालले दश लाख डोज भ्याक्सिन आज पाउँदैछ । यो पनि निःशुल्क नै हो ।

बङ्गलादेशलाई २० लाख भ्याक्सिन दिने घोषणा भइसकेको छ । त्यहाँ पनि भ्याक्सिन पुग्दैछ । भारतले म्यानमार र सिसेलिसलाई पनि भ्याक्सिन अनुदानस्वरुप दिदैछ । श्रीलंका, मौरिसस, अफगानिस्तान र सिलेलिस पनि भ्याक्सिन पाउने सूचीमा परेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्