Logo

भारतबाट १० लाख डोज भ्याक्सिन आयो



काठमाडौं, ८ माघ । भारतले सहयोगस्वरुप दिएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन नेपाल आएको छ । आज एयर इन्डियाको विमानबाट १० लाख डोज भ्याक्सिन नेपाल आइपुगेको हो ।

भ्याक्सिन भारतका राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेका छन् । त्रिभुवन विमानस्थलमा क्वात्राले त्रिपाठीलाई भ्याक्सिन हस्तान्तरण गरेका हुन् ।

भारतबाट निःशुल्क प्राप्त भएको भ्याक्सिन कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकलगायतका लागि प्रयोग गरिने स्वास्थ्यमन्त्री त्रिपाठीले जानकारी दिए । उनले भ्याक्सिन अबको केही दिनमा प्रयोगमा ल्याइने बताए ।

भारतले आजै बँगलादेशलाई पनि भ्याक्सिन पठाएको छ । युरोपेली युनीयनका अलावा १८ देशहरुमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्रयोग भइरहेको छ । तर, गरिब देशहरुले भ्याक्सिन नपाइरहँदा नेपालले पाउनुलाई ठुलो सफलताका रुपमा लिइएको छ ।

भारतका छिमेकी देशहरुमध्ये नेपालसहित भुटान, बँगलादेश, म्यानमार, श्रीलंका र मालदिभ्सले भ्याक्सिन पाएका छन् । सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड भ्याक्सिन धमाधम छिमेकी देशहरुमा पुर्याउन भारत जुटेको छ ।

भुटानले डेढ लाख र मालदिभ्सले एक लाख डोज भ्याक्सिन निःशुल्क पाएका छन् । बङ्गलादेशलाई २० लाख डोज भ्याक्सि पाएको छ । भारतले म्यानमार र सिसेलिसलाई पनि भ्याक्सिन अनुदानस्वरुप दिदैछ । श्रीलंका, मौरिसस, अफगानिस्तान र सिलेलिस पनि भ्याक्सिन पाउने सूचीमा परेका छन् ।

 

तस्बिरः मुकुन्द कालिकोटे /रिपोर्टर्स नेपाल । केही तस्बिरको स्रोत भारतीय विदेश मन्त्रालयबाट



प्रतिक्रिया दिनुहोस्