Logo

‘ओली विश्वासघाती, नरसंहारकारी, भष्मासुर, हिटलरको नेपाली संस्करण’



काठमाडौं, माघ १० । नेपाल कम्युनिस्ट पार्टी (नेपाल–दाहाल) समूहका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीले देखाएको प्रवृत्ति हेर्दा माफीमात्रै दिएर छाड्ने अवस्था नभएको बताएका छन् । राजधानीमा शुक्रबार आयोजित जनसभामा अध्यक्षद्वयले ओली भष्मासुर भएको र त्यस्ता व्यक्तिलाई सामान्य रुपको माफीले नपुग्ने बताएका हुन् ।

जनसभामा अध्यक्ष नेपालले लामो समयदेखि ओलीले दुःख दिएको बताए । ‘केपी शर्मा ओलीलाई समयमै ठीक ठाउँमा ल्याउन सकिएन । त्यसैले अहिले संविधानमाथि नै प्रहार भयो । अब आत्मसमीक्षासहित अघि बढ्नुपर्ने छ’, नेपालले भने ।

तत्कालीन एमालेको नवौं महाधिवेशनमा जालझेल गरेर ओलीले जित हासिल गरेको आरोपसमेत उनले लगाए । पार्टी एकतापछि नयाँ तरिकाले अगाडि बढ्ने अपेक्षा गरे पनि पार्टी र सरकार सञ्चालनमा ओलीको निरंकुश शैलीलाई समयमै सच्याउन नसक्नु गम्भीर कमजोरी भएको नेपालको भनाइ थियो ।

‘शिवजीले वरदान दिएर भष्मासुर बनाए तर उसले शिवलाई नै समाप्त पार्न खोजेपछि शिवजीले भष्मासुरलाई समाप्त पार्नुपर्‍यो’, नेपालले पुराणको दृष्टान्त अघि सार्दै भने, ‘पार्टीले पनि केपी ओलीलाई अध्यक्ष बनायो, प्रधानमन्त्री बनायो तर उनी भष्मासुर बने, त्यसैले अब पार्टीले ओलीको भष्मासुर प्रवृत्तिलाई समाप्त पार्नेछ ।’

नेपालले ओली हिटलरको नेपाली संस्करणका रुपमा देखा परेको आरोप लगाए । ‘केपी ओली हिटलरको बाटोमा हिँड्ने हिटलरी नाजीवादको नेपाली संस्करण हुन् । नेपाली जनता त्यस्तो प्रवृत्तिसामु थरर कामेर दास बन्दैनन्’, नेपालले भने, ‘घरझगडा हुँदा घरकै मान्छे सिध्याउने, घरमा आगो लगाउनेजस्तै पार्टी, संसद्, संविधान सिध्याउने केपी ओली नरसंहारकारी हुन् ।’ ओली कम्युनिस्ट पार्टीको सदस्य हुन समेत लायक नरहेकाले कारबाही गरिएको बताउँदै नेपालले अपराध स्वीकार गरेर प्रतिनिधिसभा पुनस्र्थापना स्वीकार नगरेसम्म ओलीसँग पार्टी नझुक्ने प्रस्ट्याए ।

प्रदर्शनमा बृहत् सहभागिता देखेर उत्साहित नेपालले आन्दोलनको उपस्थितिले पछिल्लो जनआन्दोलनको झल्को दिएको बताए । ‘आजको उपस्थितिले मलाई जनआन्दोलनको झल्को दिएको छ । ०६२÷६३ को जनआन्दोलनमा पनि यसैगरी जनता देशैभर जागेका थिए, सिंगै काठमाडौंलाई आन्दोलित बनाएका थिए । यसपटक पनि दायाँतिर, बायाँतिर सिंगै टुँडीखेलवरिपरि भरिएको छ, यसबाट जनता के चाहन्छन् भन्ने प्रस्ट भएको छ,’ नेपालले भने ।

अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा विघटनले शान्ति प्रक्रिया नै खतरामा पार्न खोजेको आरोप लगाए । ‘केपी ओलीले संविधानविरुद्ध प्रतिनिधिसभा विघटन गरेको मात्र नभई शान्ति प्रक्रिया र संघीय व्यवस्था नै विघटन गर्न खोजेका छन्,’ दाहालले भने, ‘खबरदार, त्यस्ता कदमलाई यो जनसागरले पराजित गर्नेछ ।’

दाहालले ०६२–६३ को जनआन्दोलनमा जस्तै फेरि एकपटक नागरिक समाज, पेसाकर्मी, मिडिया र बुद्धिजीवी वर्गले प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोध गरेको बताए । अहिले देशका विभिन्न भाग र काठमाडौंमा उर्लेको जनसागरलाई अदालतले पनि हेरेको उनको भनाइ थियो ।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्