Logo

वडासम्म महिलाको सहभागिता अनिवार्य



काभ्रेपलाञ्चोक, १० माघ: पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सङ्गठन विस्तार अभियानमा वडा कमिटीसम्म ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने बताएका छन् । उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोकको दुईदिने जिल्ला कमिटी बैठक एवं प्रशिक्षण कार्यक्रमलाई आज बनेपामा सम्बोधन गर्दै पार्टीको जिल्ला सचिवालयमा पनि ३३ प्रतिशत महिलाको अनिवार्य प्रतिनिधत्व गराइने दाबी गरे ।

“वडासम्मको पार्टी कमिटीमा अनिवार्य ३३ प्रतिशत महिलाको सहभागिता गर्नैपर्छ, त्यसमा पनि सक्षम महिलाको सहभागिता होस्”, नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले भने । उनले महिलाको नेतृत्व क्षमताको विकासमा पार्टीले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । उनले यसअघि पार्टी सञ्चालनका दौरान महिला सहभागिता ‘छुट्ने÷छुटाउने’ प्रवृत्तिको अन्त्य गर्न आग्रह गरे ।

बाँस्कोटाले हरेक कार्यक्रम, भेलामा पनि महिला सहभागितालाई सुनिश्चित गराउन सबैले आ–आफ्नो स्थानबाट पहल गर्नुपर्ने बताए । उनले भने, “सङ्गठन निर्माणमा महिलाको सुनिश्चितता मूलमन्त्र बनाउनुस्, सहभागिता अनिवार्य हुनेछ ।” नेकपा पार्टी सङ्ठन विस्तारका क्रममा रहेकाले ‘गुट होइन पार्टी’ निर्माणको सिद्धान्तमा अभियान सञ्चालन भइरहेको उनले बताए ।

बाँस्कोटाले पछिल्लो समय नेकपाको केही नेताको राष्ट्रियता र सामाजवादभन्दा ‘पद–पद–पद’को कसरतले जनताको अभिमत चकनाचुर पारेको आरोप लगाए । “केही नेताका देखिएको प्रवृत्तिले नेकपामा अविश्वास पैदा भयो, नेकपा त्यस्तो पार्टी होइन, मै खाऊँ–मै लाऊँ र सुखसयल मै गरू भन्ने”, उनले भने । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रियताका कारण पूर्वमाओवादी, विद्रोही समूह, आम श्रमिक वर्ग र आम नेपालीलाई प्रतिनिधित्व गर्ने भएकाले सङ्गठन विस्तार एवं पार्टी प्रवेश कार्यक्रम उपलब्धिमूलक भएको दाबी गरे ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्यत्रय रामहरि सुवेदी, रेशम लामा र रीता ढकाल, जिल्लाध्यक्ष अशोक ब्याञ्जूले प्रम ओलीले जनताको सार्वभौमिकता जनतामै लगेकाले स्वागत गर्नुपर्ने आवश्यकता औँल्याए । सो अवसरमा विप्लव माओवादीका केन्द्रीय सदस्य हालै नेकपामा नवप्रवेशी चुँडामणि चौलागाईँले प्रम ओलीको राष्ट्रवाद र राष्ट्रियताले जनताको मन जितेको दाबी गरे । बैठकले हाल प्रतिनिधि तथा प्रदेश निर्वाचन क्षेत्र कमिटीअन्तर्गत पार्टी इन्चार्ज, सहइन्चार्ज तथा आउँदो फागुन मध्यसम्म काभ्रेपलाञ्चोकको १३ स्थानीय कमिटीका १६५ वडा कमिटी घोषणा गर्ने निर्णय गरेको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्