Logo

भारतको बाटो हुँदै कुनै पनि नेपाली कतार प्रहरीमा नआएको दाबी



कतार प्रवेश गरिएका भनिएका कुवँरको कतार प्रवेश देखिएन गलत हल्ला नफैलाउन राजदूत युसुफको आग्रह

दोहा, कतार – पछिल्लो समय भारतको बाटो हुँदै नेपालीहरु कतार प्रहरीमा भर्ना भएको हल्ला चलेपनि भारतको बाटो हुँदै कुनै पनि नेपाली कतार प्रहरीमा नआएको देखिएको छ । कतार प्रवेश गरिएका भनिएका सरोज कुँवर अहिलेसम्म कतार प्रवेश नगरेको भेटिएको छ । यसरी कतार प्रहरीको रोजगारीबारे विभिन्न पक्षले भ्रम फैलाइरहेको भेटिएको हो ।

नेपाली कामदारहरुको लागि अत्यन्तै आकर्षक रोजगारीका रुपमा रहेको कतार प्रहरीको रोजगारी मेनपावर व्यवसायीको आन्तरिक बिबाद र द्वन्द अनि सरकारी निकायहरुको कमजोरीका कारण ‘आकाशको फल आँखा तरी मर’ भन्ने नेपाली उखान जस्तै हुँदैछ । जसका कारण नेपाली व्वसायीहरुको आन्तरिक द्वन्द्धका कारण कतार प्रहरीमा आएको अवसर नेपाल बाट अर्कै देशमा जाने सम्भाबना बढेको छ ।

कतार इन्ट्री भैसकेको भिषा र कतार इन्ट्री हुन बाँकी भिसाका प्रतिलिपि

कतार प्रवेश भइसकेको व्यक्तिको भिसा स्ट्याटसमा ‘इनसाइड कन्ट्री’ देखिन्छ, कतार प्रवेश भइसकेको व्यक्तिको भिसा स्ट्याटसमा ‘इनसाइड कन्ट्री’ देखिन्छ, त्यसैले कुँबर कतार इन्ट्री नभएको देखिन्छ

भिसासम्बन्धी विवरण यहाँ चेक गर्न सकिन्छ :

https://portal.moi.gov.qa/wps/portal/ar

अहिले नेपालका हजारांै युवाहरु कतार रोजगारीको प्रतीक्षामा रहेपनि नेपाल सरकारको केही नीतिकै कारण पनि कतार प्रहरीको रोजगारी समस्यामा परेको मेनपावर व्यवसायीहरुहरु बताउछन । कतार प्रहरीको बिना स्वीकृत अन्तर्वाता गरिएकोबाट शुरु भएको रोजगारीको बिबाद अझै अन्त्य भएको छैन् । कतार प्रहरीमा रोजगारीको बिबाद भईरहँदा केही वैदेशिक रोजगार व्यवसायीहरुहरुले कतार प्रहरीमा भिसा प्रमाणीकरण नै नगरी कामदार कतार पुर्याएको समाचार केही संचारमाध्यममा सार्र्वजनिक भएपछि यसले नेपालको बैदेशिक रोजगारको क्षेत्रमा नयाँ तरङ्ग उत्पन्न गरेको छ ।

उक्त समाचारमा कतारस्थित नेपाली दूतावासको सम्पर्कमा आएका भनि दाबी गरिएका सरोज कुँवर बैदेशिक रोजगार बिभागबाट प्रमाणीकरण नै नगरी कतार प्रहरीको रोजगारीका लागि कतार पुगेको दाबी गरिएको छ । तर, कतारस्थित नेपाली राजदूत नारद भारद्वाजले उक्त समाचारमा सत्यता नभएको बताए राजदूत भारद्वाजले आफुहरुलाई नेपालबाट को कसरी आए भन्ने बिस्तृत जानकारी नहुने जनाउँदै उक्त व्यक्तिबारे राजदूताबास बेखबर रहेको र यसबारेमा कतार स्थितनेपाली दूताबासको नाम जोडिएकोमा आफु नै अनभिज्ञ रहेको बताए । राजदूत भारद्वाजले आफु र दूताबासलाई सरोज कुँवरको बारेमा आजसम्म कसैले कुनै जानकारी नदिएको समेत राजदूत भारद्वाजले बताए ।
यता भिसा नम्बर ८०२०२१००००४२ भएका नेपाली पासपोर्ट नम्बर ०७९१४५७३ भएका सरोज कुँवर कतार प्रवेश नगरेको कतारको सरकारी निकायले पनि दाबी गरेको छ । कुँवर कतार नआएको कतारस्थित नेपाली दूतावास र नेपालस्थित कतारी दूतावास स्रोतले समेत दाबी गर्यो । कतारस्थित नेपाली दूतावास स्रोतले केही मेनपावर कम्पनी र एजेन्टले भारत हुँदै नेपाली कामदार कतार प्रहरीमा लैजाने गरेको केहि सञ्चारमाध्यममार्फत आएको आफुहरुले सुनेपनि त्यो प्रमाणित नभएको बतायो । मेनपावर र एजेन्टले भारत हुँदै कतारमा कामदार ल्याइरहेको हल्लाका बारेमा दूतावासले वैदेशिक रोजगारी विभागसँग बुझ्न आग्रह गर्यो ।
यता बैदेशिक रोजगार विभागले आफुहरुलाई पनि सोबारे बिस्तृत जानकारी नभएको बतायो । नेपालबाट अहिले कतार प्रहरीका लागि श्रम स्वीकृति जारी नभएको मात्रै विभागका महानिर्देशक कुमार दाहालले बताए । कतारले विश्वकपकै लागि ५ हजारभन्दा धेरै नेपालीलाई कतार प्रहरीमा लैजानका लागि कोटा छुट्ट्याएको थियो । तर, नेपालबाट कामदार लैजान धेरै बिबाद भएपछि कतारी प्रहरी र सुरक्षा गार्ड डिमाण्ड अहिले अन्योलमा रहेको छ ।

कतार प्रहरीको रोजगारीमा सीमित कोटा रहेको र अत्यन्त आकर्षक सुविधा भएकाले त्यहाँ जान धेरै नेपालीहरु ईच्छुक रहेका छन् । कामदारहरुको आकर्षण बढ्नु र सीमित संख्यामा रहेको मागपत्रमा धेरै मेनपावरहरुको प्रतिस्पर्धा रहनु नै अहिलेको मुख्य समस्या रहेको बताइएको छ । ‘मेनपावर व्यवसायीहरु बिचको अस्वस्थ प्रतिस्पर्धा नै अहिलेको समस्याको जड हो । मागपत्र कम हुनु र धेरै मेनपावरले उक्त मागपत्र आफ्नो हातमा पार्न बिभिन्न खेल खेल्नु नै कतार प्रहरीमा कामदार लैजानको लागि मुख्य समस्याको बिषय बनेको देखिन्छ । अझै यसरी नै व्यवसायीहरुबीच मागपत्र हत्याउन आपसी द्वन्द बढ्दै जाने हो भने नेपाली कामदारलाई आएको यो सुनौलो मौका गुम्ने खतरा देखिन्छ’, बैदेशिक रोजगार व्यवसायबारे लामो समयदेखि जानकार एक विज्ञले बताए ।

गलत हल्ला नफैलाउन राजदूत युसुफको आग्रह

कतार प्रहरीका लागि आकर्षक रोजगारीका नाममा केही समय पहिलेदेखि भइरहेका बिभिन्न गतिविधिमा कतारी दूतावासको कुनै संलग्नता नरहेको र यसबाट कतारी दूतावास दुखित रहेको नेपालका लागी कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैलले बताएका छन् । कतारको गृह मन्त्रालयको लक्ष्य भनेको नेपालबाट पाँच हजार भन्दा बढी सुरक्षा गार्ड लैजाने रहेको र त्यसको एकमात्र कारण नेपालीप्रतिको विश्वास रहेको उनले बताए ।

‘नेपालबाट लगिने नेपाली सुरक्षा गार्डहरुलाई हाम्रो देशको कानून बमोजिम राम्रो तलव, निशुल्क खाना, निशुल्क बस्ने ब्यवस्था र निशुल्क औषधि उपचारको व्यवस्था गरेका छांै’, राजदूत युसुफले बताए । ‘नेपालीहरु धेरै ईमान्दार छन् तर पनि रोजगारीको अवसर पाएका छैनन् । कतारको एउटा सानो सहयोगले नेपालका युवाहरुले राम्रो मौका पाउन सक्छन् भन्ने मेरो बुझाई हो । यो नेपालीहरुप्रतिको माया र सम्बन्धको कारणले नै यतिधेरै संख्यामा सुरक्षा गार्ड लैजाने तयारी कतार सरकारले गरेको हो’, राजदूत युसुफले केही सञ्चारमाध्यममा आफु र दूतावासलाईसमेत जोडेर समाचार बनाईएकोप्रति दुखेसो व्यक्त गरे ।

युसुफले नेपालस्थित कतारी दूतावास कुनै प्रकारको व्यवसायिक र व्यापारिक कारोबार गर्ने, नेपालका मेनपावर छनौट गर्ने जस्ता काममा नलाग्ने र त्यस्ता काम नगर्ने बताए । ‘यो दूतावासको कार्यक्षेत्र भित्र पर्ने विषय पनि होईन । यस कारण केही सञ्चारमाध्यममा आएका समाचारका विषयहरुमा म सहमत छैन । किन भने अन्तराष्ट्रिय विषयहरुमा संचारमाध्यमहरुलाई अझ बढी जानकारी हुनु पर्ने हो । मैले जानकारी पाए सम्म मेनपावर छनौटको कुरा, नेपालका सबै मेनपावरले आवश्यक कागजातसहित प्रक्रियामा आउनुपर्छ । श्रम मन्त्रालयबाट आवश्यक कागजात लिनुपर्छ । सबै कागजात हेरेर प्रक्रिया अगाडि बढ्ने हो र त्यो सबै कार्य दोहाबाट नै हुन्छ । छनौटको काम भनेको दोहामा रहेको हाम्रो सरकारी निकायले गर्ने हो, त्यसमा हाम्रो दूतावासको कुनै प्रकारको भूमिका हूँदैन’, राजदूत युसुफले भने ।

नेपालमा माग आयो भन्दैमा जो पायो उही व्यक्ति कतार प्रहरीमा लैजाने नभई त्यसको लागि निश्चित मापदण्डहरु रहेको उनले बताए । ‘व्यक्तिको उचाइ, अनुभव, योग्यता, उमेर लगायतका मापदण्डहरु अनिवार्य पूरा गर्नुपर्छ जाने व्यक्तिले । अघिल्लो वर्ष पनि नेपालबाट हामीले ३०० सुरक्षा गार्ड लगेका थियौ । कतार सरकार र राजदरबारसमेत नेपाली सुरक्षागार्डको काम प्रति एकदमै सन्तुष्ट छ । त्यस कारण पनि पुनः माग आएको हो । यसलाई नेपाली युवाहरुले अवसरको रुपमा लिनुपर्छ,’ उनले बताए । राजदूत युसुफका अनुसार हाल नेपालबाट गएका सुरक्षा गार्डहरु त खुसी छन् भने कतार सरकार पनि उनीहरुबाट एकदमै खुसी छ ।

कामदार लैजाने प्रक्रियामा कतार सरकारको उच्च तहमा रहेका दस्तावेजहरुको आधारमा मेनपावर छनौट हुने र पछि जानकारी गराइने स्पष्ट प्रावधान हुँदाहुँदै पनि केही व्यक्तिहरुले आफ्नोे व्यक्तिगत चरित्र हत्या गर्ने उद्देश्यले आफुमाथि केही अप्रमाणित आरोप लगाएको भन्दै उनले गम्भीर आपत्ति प्रकट गरे । ‘मोनोपोलीरुपमा बिनाप्रमाण कुटनैतिक निकायको समाचार छाप्न पाईन्छ ? मैले सबैलाई स्पष्ट भनेको छु, मैले र दूतावासको कारणले मेनपावर छनौट गरेको कुनै प्रमाण भए आफू त्यस विषयमा छलफल गर्न तयार छ’, उनले भने ।

तर, केही सञ्चारमाध्यमले फलानो मेनपावर छनौट गर्नका लागि दबाव दिएको भनेर लेखको उल्लेख गर्दै राजदूत युसुफले आफुैले कसैलाई पनि दबाव नदिएको र त्यो आफ्नो काम भएको स्पष्ट पारे । ‘यो अप्रमाणित हल्ला फैलाउँदा नेपाली जनतालाई नै घाटा हुने हो । मैले त नेपालीहरुलाई अवसर प्रदान गर्नको लागि कतार सरकारसमक्ष कुरा राखेर यति राम्रो अवसर आएको हो नेपालमा । मेरो काम भनेको व्यापार गर्ने नभई नेपाली जनता र कतारी जनताबीचको सम्बन्ध सुमुधुर राख्ने हो’, उनले भने ।

कतार सरकार र नेपाल सरकारको बीच एकदमै राम्रो र सुमधुर सम्बन्ध रहेको बताउँदै राजदूत युसुफले दुई देशको बीच बिगत ४२ बर्ष देखि सुमुधुर सम्बन्ध रहदै आएको उल्लेख गरे । ‘नेपालमा आएको बिनासकारी भूकम्प र अन्य प्रकृतिक प्रकोपको समयमा कतार सरकारले नेपाललाई धेरै सहयोग गर्दै आईरहेको र निरन्तर सहयोग पनि रहनेछ । हामीले कतार च्यारिटीमार्फत धेरै नेपालीहरुलाई सहयोग गरिरहेका छौ । स्वास्थ्य, शिक्षा र अस्पताललगायतका धेरै क्षेत्रमा हामीले धेरै सहयोग गरिरहेका छौं र भविस्यमा पनि गर्नेछौ । हाम्रो यस्तो सम्बन्धमा अनाबस्यक हल्ला नफैलाउन नेपालका संचारमाध्यम हरुलाई म अनुरोध गर्दछु’, राजदूत युसुफले बताए । यो समाचार हामीले जनसवाल दैनिकबाट लिएका हौं । 



प्रतिक्रिया दिनुहोस्