Logo

ओलीले प्रचण्डबारे भनेः नाभी गएर विदेशमा गाडिएका



काठमाडौं, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाभी विदेशमा गाडिएको टिप्पणी गरेका छन् । आज चितवनमा सभालाई सम्बोधन गर्दै उनले प्रचण्डको साइनो नै विदेशमा रहेको टिप्पणी गरेका हुन् ।

‘नाभी गएर विदेशमा गाडिएका, नाभी अन्तै जोडिएकाहरुलाई छान्नु हुँदैन,’ प्रचण्ड निर्वाचित चितवनको क्षेत्र नं ३ मा आयोजित सभामा ओलीले भने, ‘कुनै गल्ती नगरी जनता र देशका लागि काम गर्ने । साइनो देशभित्र रहेकालाई छानेर पठाउनुपर्छ ।’

ओलीले प्रचण्डले अयोध्यापुरीलाई राम जन्मभूमी भन्न नसकेको बताए । उनले राम जन्मभूमी अयोध्यापुरी भन्दै अर्को वर्ष रामनवमीमा प्राण प्रतिष्ठा गर्ने बताए । ओलीले प्रचण्डप्रति संकेत गर्दै भने, ‘राम जन्मभुमि अयोध्यापुरी बोल्न सक्नुहुन्न । कस्का डरले हो भनेर किन बोल्न सक्नुहुन्न ? बडा सक्कली राष्ट्रवादी भएर हिंड्नुभएको छ त ?’ अयोध्यापुरीलाई विश्वभरका हिन्दुहरुको तीर्थस्थलका रुपमा विकास गरिने बताए ।

ओलीले राष्ट्रियताको सही रक्षा र प्रयोगका लागि आफू कुनैपनि अवस्थामा घुँडा नटेक्ने बताए । पञ्चायत, निरंकुश राजतन्त्रको अवस्थामा पनि घुँडा नटेकेको बताउँदै भने, ‘नेपालको स्वाभिमानलाई माथि उठाइन्छ ।’

 



प्रतिक्रिया दिनुहोस्