प्रधानमन्त्री ओलीको प्रश्नः जनताले के बिगारेर बन्द गरेको ?


काठमाडौं, २१ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समूहले भोलि आमहड्ताल गरेर जनतालाई दुःख दिन खोजेको टिप्पणी गरेका छन् । उनले जनताले बन्द हड्ताल नचाहेको समेत बताएका छन् ।

‘जनताले के बिगारेर बन्द गरेको ?’ प्रधानमन्त्री ओलीले आज नेपाल भूमिहीन सुकुम्बासी संगठन केन्द्रीय कमिटीको राजधानी आयोजित राष्ट्रिय भेलामा प्रश्न गरे, ‘बन्द के का लागि र किन गर्नु ?’ उनले जनतालाई दुःख दिने र जनजीवन प्रभावित पार्ने कार्य नगर्न चेतावनी समेत दिए ।
प्रचण्ड र नेपाल समूहले भोलि आमहडतालको आव्हान गर्दा ओलीले त्यसको आलोचना गर्दै बोलेका हुन् ।

यसैगरी, गृह मन्त्रालयले आमहड्तालको अवज्ञा गर्न आव्हान गरेको छ । मन्त्रालयले विज्ञप्तिमार्फत् दैनिक रुपमा सञ्चालित उद्दोग, पेशा, व्यवस्था सञ्चालनमाबाधा पुग्न नदिन सुरक्षा व्यवस्था मिलाइने समेत जनाएको छ । यातायातमा तोडफोड गरे कडा कारबाहीको चेतावनी समेत दिएको छ ।