Logo

बादललाई वर्षमानको काउन्टरः ओली र थापा जस्ता शासक गल्लीमा लतारिन्छन्



काठमाडौं, २४ माघ । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहका प्रभावशाली नेता वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादललाई गल्लीमा लतार्ने चेतावनी दिनएका छन् । उनले ओली र बादललाई धम्कीको भाषा नदिन समेत चेतावनी दिए ।

‘ओली र थापाजस्ता शासकहरु गल्लीमा लतारिन्छन्, पछारिन्छन् कसैले हेर्दैनन्,’ नेकपाको प्रचण्ड-नेपाल समूहको तनहुँको दमौलीमा आयोजित कार्यकर्ता भेलामा पुनले भने, ‘इतिहासमा कति तानाशाही शासकहरु गल्लीमा लतारिए, कति मारिए ।’ उनले धम्की देखि आफूहरु नडराएको बताए ।

विगतमा पूर्व राजा ज्ञानेन्द्र शाहकै हालतमा ओली र बादल पुग्ने उनको चेतावनी थियो । पूर्व राजा शाहले पनि धम्की दिने गरेको स्मरण गराए ।
शुक्रबार नेकपा ओली समूहको जनसभामा गृहमन्त्री बादलले प्रचण्डलाई चिडिखानामा थुन्ने चेतावनी दिएका थिए । त्यसलगत्तै पुनले बादललाई काउन्टर दिदै बोलेका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भ्रष्टाचारको फाइल खोल्न दिएको चेतावनीप्रति संकेत गर्दै कसैसँग नतर्सने बताए । ज्ञवालीले भ्रष्टाचारका फाइलमा लागेको धुलो टक्टक्याउन लागेको बताएको भन्दै पुनले धुलो लागेका फाइलहरु टक्टक्याउन चुनौती दिए । उनले प्रदीप ज्ञवालीतर्फ संकेत गर्दै भने, ‘धुलो लागेका फाइलहरु तपाईंहरुका बढी छन् । आम्नी, यति काण्डलगायत धेरै काण्डहरु छन् ।’

अख्तियार, निर्वाचन आयोगलगायतका अंगहरुमा हालै नियुक्त गरिएका पदाधिकारीबारे उल्लेख गर्दै पुनले त्यसलाई असंवैधानिक भने । उनले हालै नियुक्त गरिएकाहरुबाट संवैधानिक निकायको व्यापक दुरुपयोग गरी तर्साउने प्रयास शुरु भएको बताए ।



प्रतिक्रिया दिनुहोस्