Logo

पूर्वप्रधानमन्त्रीहरुको भारत भ्रमणमाथि शंका



फागुन ९, काठमाण्डौ । देशमा राजनीतिक उथलपुथल हुँदा विभिन्न बहानामा भारत जाने र आउने नेताको लर्को लाग्छ । अहिले प्रतिनिधि सभा बिघटनपछी ३ जना पुर्वप्रधानमन्त्रिहरु तथा अन्य नेताहरु उपचारको लागि भन्दै भारत गए । त्यहा कुनै राजनीतिक भेटघाट नभएको दावी गरिएको छ । तर धेरैले उनीहरुको भ्रमणलाई शंकाको नजरले हेरेको छन् ।

गत पुष २० गते नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालको स्वास्थ्यउपचारका लागि भन्दै भारत गए । २५ गते पुषमा स्वदेश फर्किएका उनले आफ्नो भारत भ्रमणका क्रममा कुनै पनि राजनीतिक भेटघाट नभएको दावी गरे ।

नेपालको राजनीतिमा सबैभन्दा धेरै चासो राख्ने भारत गएका बेला दाहालले राजनीतिक भेटघाट गरेको हुन सक्ने धेरैको अनुमान छ । यद्यपी त्यो अनुमानलाई पुष्टी गर्ने कुनै आधार अहिलेसम्म भेटिएको छैन ।

त्यस्तै पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल माघ ३० गते भारत प्रस्थान गरे । उनी भारत जानुको कारण पनि स्वास्थ्य उपचार नै थियो । उनको दिल्लीको अपोलो हस्पिटलमा उपचार गरिएको थियो । उनी ९ दिनको भारत बसाइ पछी ८ गते नेपाल फर्किए । विमानस्थलमा खनालले पनि स्वास्थ्यउपचार बाहेक अरु कुनै उद्धेश्य नरहेको दावी गरे ।

पेटको समस्याबाट पीडित पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई आइतबार भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् । उनी लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए ।

भट्टराईको उपचार भारतमै गर्नुपर्ने कारण हो वा होइन भनेर निदान अस्पतालसँग प्रतिक्रिया लिन खोज्दा जवाफ दिन अस्पताल प्रशासनले इन्कार गर्यो । त्यस्तै जसपाका अध्यक्ष महन्थ ठाकुर पनि माघ २५ गते भारत गएका थिए । देशमा राजनीतिक अस्थिरता भएको समयमा उपचारको नाममा भारत भ्रमण गर्नुलाई कतिपयले शंकाको नजरले हेरेका छन ।

नेपालको राजनीति तरल अवस्थामा हुँदा भएको तीन जना पूर्वप्रधानमन्त्री र केही नेताहरुको भारत भ्रमणले विभिन्न आशंका उब्जाएको छ । उनीहरु स्वास्थ्य उपचारका लागि भनेर भारत गए पनि त्यही उपचार नेपालमा पनि हुन सक्ने अवस्थामा किन गए त भन्ने प्रश्न पनि धेरैले गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्