Logo

मनास्लु वल्र्ड कलेजद्वारा पत्रकार ऋषि धमला अभिनन्दित



काठमाडौं, १५ फागुन । मनास्लु वल्र्ड कलेज, चुच्चेपाटी, काठमाडौंले रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलालाई सम्मान गरेको छ । कलेजले आज शनिबार एक कार्यक्रमका बीच पत्रकार धमलालाई ‘मनास्लु वल्ड कलेजको राष्ट्र निर्माणका प्रवुद्ध व्यक्तित्वमा सम्मान तथा विद्यार्थी स्वागत कार्यक्रमको शुभ अवसरमा प्रथम सम्मानित व्यक्तित्वको रुपमा यो सम्मान–पत्रद्वारा सम्मान गरेको हो ।

सम्मानपत्र भने शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रदान गरेका थिए । सम्मान–पत्रमा लेखिएको छ–‘श्री ऋषि धमलाज्यू, वरिष्ठ पत्रकार, आम सञ्चारको जगतमा अनवरत सक्रियता एवम् समय सान्दर्भिक पत्रकारिताको आवश्यकत्तालाई मध्यनजर गर्दै आम नेपाली जनतालाई सुसूचित गर्न र राष्ट्रिय राजनीतिमा सकारात्मक परिवर्तन ल्याउनको लागि महत्वपूर्ण भूमिका खेल्नुहुने तपाईँ नेपाली सञ्चार क्षेत्रको एक मूर्धन्य व्यक्तित्व हुनुहुन्छ । रेडियो, टेलिभिजन तथा रिपोर्टर्स क्लबमा आयोजित विविध छलफल तथा बहसमार्फत समेत पत्रकारितको मूल मर्मलाई ध्यानमा राखी सीधा कुरा प्रष्ट विचार राख्ने प्रखर वक्ता, तपाईँको सम्पूर्ण नेपालीहरुको विश्वास जित्न सफल कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ जस्ता प्रस्तुतिहरुको मुक्तकण्ठले प्रशंसा गर्दै यहाँले यस क्षेत्रमा पुर्याउनुभएको योगदानको उच्च मूल्यांकन गर्दै यस मनास्लु वल्ड कलेजको राष्ट्र निर्माणका प्रवुद्ध व्यक्तित्वमा सम्मान तथा विद्यार्थी स्वागत कार्यक्रमको शुभ अवसरमा प्रथम सम्मानित व्यक्तित्वको रुपमा यो सम्मान–पत्रद्वारा सम्मानित गरिन्छ, साथै यस सम्मानले समग्र राष्ट्रको उन्नति,प्रगतिको लागि अझ दत्तचित्त भई कार्य गर्न थप उर्जा मिल्नेछ भन्ने अभिलाषाका साथ यहाँको उत्तरोत्तर प्रगतिको सु–स्वास्थ्य तथा दीर्घायुको कामना व्यक्त गर्दछौं ।’ सम्मानपत्रमा कलेजका प्रिन्सिपल राजन श्रेष्ठ, अध्यक्ष गन्द लामा र प्रमुख अतिथि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको हस्ताक्षर रहेको छ ।

कार्यक्रममा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ शैक्षिक कार्यक्रमहरु अब क्यालेण्डरअनुसार नै अघि बढ्ने विश्वास दिलाए । मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पारे । उनले भने,‘अब २ वर्ष पनि उहाँले नै सरकार चलाउनुहुन्छ । प्रचण्ड र माधव नेपाल चोईटिएर गएका छन् । आए एकता हुन्छ, नत्र उनीहरु चोइटिन्छन।’

प्रतिनिधिसभा पूनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको आफूहरुले कार्यान्वयन गर्ने पनि उनले सुनाए । उनले भने,‘अदालतले गरेको निर्णयलाई हामी अस्विकार गर्दैनौं । तर, जनताको मत त्यो हाईन । अविश्वासको प्रस्ताव आए, त्यसलाई परास्त गछौं । उहाँसँग पूर्ण बहुमत छ । निर्वाचन आयोगले हामीलाई नै सूर्य चिन्ह दिन्छ ।’
कार्यक्रममा उक्त कलेजका प्रिन्सिपल राजन श्रेष्ठले आफूहरुको कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए । उनले आधुनिक युग सुहाउँदो शिक्षा प्रदान गर्दै आएको पनि जनाए ।

सम्मानित भएपछि पत्रकार ऋषि धमलाले नेपालको शिक्षामा आमूल परिवर्तन हुनुपर्ने आवश्यकत्ता औंल्याए । उनले भने,‘राज्यले शिक्षा क्षेत्रमा व्यापक लगानी गर्नुपर्छ । राम्रो संरचना बनाउनुपर्छ । सामूदायिक विद्यालयको संरचना स्तरोन्नतीमा ध्यान दिनुपर्छ । हुन त राज्यले शिक्षा र स्वास्थ्य निःशुल्क भनेको छ , त्यतातिर गएन । राज्यले गम्भीले कदम चाल्नुपर्छ । मनास्लु कलेज राम्रो कलेज हो । गुणस्तरीय शिक्षा दिएको छ । हरेक तह र तप्कामा यहाँ अध्ययनले गर्नेले गर्न नेतृत्व गर्न सक्छन् ।’
धमलाले शिक्षा क्षेत्रमा राजनीति हुनुहुँदैन् भन्ने आफ्नो संकल्प रहेको सुनाए । उनल भने,‘विद्यार्थीमा अनुशासन, मेहनत, अतिरिक्त ज्ञान हुनुपर्छ । पत्रकारितामा आउँदाखेरि सूचना, पहुँच सबै चाहिन्छ । अनि पत्रकारितामा सफल भईन्छ । नेपाललाई विकास र समृद्धिमा लैजाने हो भने भ्रष्टाचारमुक्त बनाउनुपर्छ । देशले प्रगति गर्न पाउँदैन् ।’



प्रतिक्रिया दिनुहोस्