Logo

एकै महीनामा थप साढे ५ हजार महिलाले पाए सहुलियत कर्जा



काठमाडौं, फागुन १६ । ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा महिला उद्यमीले पाउन सास्ती खेप्नुपरेको यसअघि गुनासो सुनिए पनि अहिले केही सुधार हुन थालेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाबाट एकै महीनामा महिला उद्यमशीलता कर्जा लिने महिलाको संख्या ५ हजार ६ सय ६३ थपिएको छ । गत मङ्सिरपछि उक्त संख्यामा सहुलियत कर्जा लिने महिला थपिँदा पुसमसान्तसम्म कुल २५ हजार २ सय ९८ जना पुगेको छ । उनीहरूले पुससम्ममा २१ अर्ब ७८ करोड रुपैयाँ बराबरको कर्जा उपयोग गरेको राष्ट्र बैंकले बताएको छ ।

गत मङ्सिरमा १९ हजार ६ सय ३५ जना महिलाले रू। १५ अर्ब ८९ करोड कर्जा उपयोग गरेका थिए । गतवर्षको पुसको तुलनामा चालू आवको सोही अवधिमा महिला उद्यमशीलता कर्जा लिने महिला साढे २२ हजार थपिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । गत आवको पुससम्म भने २ हजार ६ सय १९ जना महिलाले रू। १ अर्ब ६२ करोडको मात्र यस्तो कर्जा उपयोग गरेका थिए ।

महिला उद्यमशीलता शीर्षकमा विनाधितो ६ प्रतिशत ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जा लिन पाउने व्यवस्था छ । महिला उद्यमशीलता कर्जा प्रतिव्यक्ति रू१५ लाखसम्म लिन पाइन्छ ।

विभिन्न १० शीर्षकमा सहुलियतपूर्ण कर्जा उपयोग गर्ने सबैभन्दा बढी अंश व्यावसायिक कृषि तथा पशुपक्षी व्यवसाय र महिला उद्यमशीलता कर्जामा देखिएकोे छ । चालू आवको ६ महीनासम्म बैंकहरूबाट ब्याज अनुदानमा लगानीमा रहेको कुल सहुलियत पूर्ण कर्जा १ खर्ब ३६ करोड उपयोग भएको छ ।

कुल कर्जा उपयोगमध्ये कृषिमा ७६ दशमलव ३ प्रतिशत ७६ अर्ब ५९ करोड उपयोग भएको छ भने महिला उद्यममा २१ दशमलव ७० प्रतिशत २१ अर्ब ७८ करोड उपयोग भएको छ । यसबाहेकका शीर्षकमा कम उपयोग भएको छ । यस अवधिमा कुल ६० हजार ८ सय ७८ जनाले विभिन्न १० शीर्षकका सहुलियत कर्जा उपयोग गरेका छन् । गत आवको सोही अवधिमा कुल २३ हजार ९ सय ७८ जनाले यस्तो कर्जा पाएका थिए ।

यस्तै, बैंकहरूको पुससम्म कृषिमा विनाधितोमा भन्दा बढी धितो कर्जामा लगानी रहेको छ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कृषि कर्जामध्ये १ अर्ब २१ करोड ११ लाख रुपैयाँ बराबरको कर्जा विनधितो प्रवाह गरेको छ ।

बाँकी ७५ अर्ब ३७ करोड ९५ लाख बराबरको धितोमा कृषि कर्जा प्रवाह गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जा व्यावसायिक कृषि तथा पशुपक्षी व्यवसायका लागि प्रतिव्यक्ति ५ करोडसम्म ५ प्रतिशत ब्याज अनुदान पाउन सकिन्छ । साथै, यसभन्दा बढीको कर्जा २ प्रतिशत ब्याज अनुदान दिने व्यवस्था छ ।

सबैभन्दा बढी कर्जा उपयोग भएको व्यावसायिक कृषि तथा पशुपक्षी व्यवसायमा मात्रै ३३ हजार ८ सय १७ जनाले कर्जा प्राप्त गरेका छन् । गत ५ महीनामा ३० हजार ८ सय ७ जनाले सो शीर्षकमा कर्जा उपयोग गरेका छन् । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्