Logo

विप्लव समुहमाथिको प्रतिबन्ध फुकुवा गर्ने मन्त्रीपरिषदको निर्णय



फागुन २०, काठमाण्डौ । सरकारले नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । आजै विहान सरकार र विप्लव समुहबीच भएको सहमति अनुसार सरकारले प्रतिबन्ध फुकुवा गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन समेत गरेको हो । सरकारले २८ फागुन २०७५ मा विप्लव समुहलाई प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाएसँगै प्रहरीले विप्लव समूहका नेता–कार्यकर्तालाई जहाँ भेट्यो, त्यही पक्राउ गर्ने नीति अख्तियार गर्दै आएको थियो । प्रतिबन्धपछि २ हजार ९८ जना विप्लवका नेता–कार्याकर्ता पक्राउ परे । सो समूह विरुद्ध २ हजार ७ वटा मुद्दा विभिन्न प्रहरी युनिटमा दर्ता भएको छ । मुद्दा दर्तापछि थुनछेक बहस हुँदा अदालतको आदेशबाट १८ सय ६४ जना तारेखमा छुटेका छन् ।

यद्यपि उनीहरु विरुद्धको मुद्दा विचाराधीन छ । प्रहरी प्रधान कार्यालयको रेकर्ड अनुसार विप्लवका १ सय २६ नेता कार्यकर्ता अदालतको आदेशले जेलमा बसेर मुद्दा लडिरहेका छन् । सरकार र सो समूहबीच ३ बुँदे सहमतिमा हस्ताक्षर हुँदा १८ जना प्रहरीको हिरासतमा छन् । विहिबार सहमति भएलगत्तै विप्लव समूहका नेता, कार्यकर्तामाथिको धरपकडलाई रोक्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री केपी ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले शुक्रबार विस्तृत सम्झौतामा हस्ताक्षर गर्ने र एउटै मञ्चबाट सम्बोधन गर्ने छन् ।



प्रतिक्रिया दिनुहोस्