Logo

नेपालीहरुले प्रतिवर्ष २ अर्ब २४ करोड केजी खानेकुरा खेर फाल्छन्



काठमाडौं, २१ फागुन । नेपालमा वर्षेनी खाद्यान्न आयात बढिरहेको छ । तर, नेपालीहरु खानेकुरा खेर फाल्नेमा पनि अगाडि देखिइरहेका छन् ।

प्रत्येक नेपाली परिवारले प्रतिवर्ष ७९ केजीको अनुपातमा खानेकुरा खेर फाल्ने गरेको संयुक्त राष्ट्रसंघको वातावरण कार्यक्रम युएनइपीले ४ मार्च २०२१ मा सार्वजनिक गरेको फुड वेष्ट इन्डेक्स रिपोर्टमा उल्लेख छ ।

नेपालीहरुले वार्षिक २ अर्ब २४ करोड ९४ लाख १२ हजार केजी खानेकुरा खेर फाल्छन् । दैनिक ६१ लाख ६२ हजार केजी खानेकुरा नेपालीहरुले खेर फाल्छन् ।

युएनइपीको प्रतिवेदन अनुसार दक्षिण एशियामा नेपाल सबैभन्दा बढी खानेकुरा फाल्नेहरुको सूचीमा दोस्रो स्थानमा छ । दक्षिण एशियामा सबैभन्दा बढी प्रत्येक अफगानिस्तानी परिवारले प्रतिवर्ष ८२ केजी खानेकुरा खेर फाल्छन् । नेपाल जतिकै प्रत्येक भुटानी नागरिकले पनि प्रतिवर्ष ७९ केजी खानेकुरा खेर फाल्छन् ।

दक्षिण एशियामा सबैभन्दा कम खानेकुरा खेर फाल्नेमा भारतीय नागरिक छन् । भारतमा प्रतिवर्ष प्रति परिवारले ५० केजी खानेकुरा खेर फाल्छन् ।

विश्वभर प्रति परिवारले प्रतिवर्ष ७४ केजी खानेकुरा खेर फाल्ने प्रतिवेदनमा उल्लेख छ । विश्वमा सबैभन्दा बढी खानेकुरा खेर फाल्नेमा नाइजेरियाली छन् । त्यहाँ प्रतिवर्ष प्रति परिवारले १८९ केजी खानेकुरा फाल्छन् । रुवान्डा १६४ केजी, ग्रीस १४२ केजी, बहराइन १३२ केजी र माल्टा १२९ केजी रहेको रिपोर्टमा उल्लेख छ ।

सन् २०१९ को संयुक्त राष्ट्रसंघको खाद्यान्न तथा कृषि संगठनको तथ्यांक अनुसार ६९ करोड मानिसहरु भोकमरीमा परेका छन् । कोरोना भाइरसको संक्रमणपछि विश्वमा भोकमरी बढ्ने अनुमान छ । ३ अर्ब मानिसहरु आवश्यक पौष्टिक आहारबाट वञ्चित भइरहेको तथ्यांक छ । यस्तो अवस्थामा खानेकुरा खेर फाल्नु गम्भीर विषय भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्