भागरथी हत्या प्रकरणका अभियुक्त दिनेश भट्टलाई सुधारगृह पठाइने


बैतडी, २६ फागुन । भागरथी भट्टको बलात्कारपछि हत्याका अभियुक्त दिनेश भट्टलाई सुधार गृह लगिने भएको छ । अदालतको आदेशपछि उनलाई र्पुपक्षका लागि सुधारगृह पठाइने भएको हो ।

बैतडीको दोगडाकेदार गाउँपालिका(७ का किशोरलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएपछि त्यसको कार्यान्वयन गरिने भएको हो ।

७ वर्षीया भागरथी भट्टलाई बलात्कार र हत्या गरेको आरोप लागेका दिनेश भट्ट १८ वर्षभन्दा कम उमेरको भएकाले पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिइएको हो । कशोरलाई सरकारी वकिल कार्यालयले मङ्गलबार अदालत बुझाएको थियो ।

थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिएको हो ।

किशोरलाई आजै डोटीमा रहेको सुधारगृह पठाइँदैछ । गत माघ २१ गते विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नपुगेपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जङ्गलमा विभत्स अवस्थामा मृत फेला परेकी थिइन् ।

प्रहरीले घटनाको अनुसन्धानपछि किशोरलाई फागुन ४ गते नियन्त्रणमा लिएको थियो । त्यसपछि प्रहरीले जिल्ला अदालतबाट चार पटक ५-५ दिनका लागि म्याद थप गरेर थप अनुसन्धान गरेको थियो । किशोरले यसअघिनै आफूले बलात्कारपछि भागरथीको हत्या गरेको स्वीकार गरिसकेका छन् ।

यसअघि भागरथीको शव जिल्ला अस्पतालमा परीक्षण गर्दा बलात्कारपछि हत्या भएको देखिएको थियो । भागरथीको भेजाइनल स्वाब र किशोरको डिएनए परीक्षणका लागि विधिविज्ञान प्रयोगशाला काठमाडौँ पठाइएको भए पनि रिपोर्ट आएको छैन ।