Logo

ओलीलाई नेकपामाभन्दा एमालेमा झन् चुनौती बढ्नसक्ने



काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष हुँदा सचिवालय देखि केन्द्रीय सदस्य हुुुँँदै तल्लो निकायका अलावा संसदीय दलसम्म अल्पमतमा थिए । अहिले नेकपा एमाले ब्युँतिएपछि ओली केन्द्रीय समिति र संसदीय दलमा बहुमतमा छन् । तर, पदाधिकारी र स्थायी कमिटीमा ओली अल्पमतमा छन् ।

नेकपा एमाले गठन भएपछि ओलीले अहिलेसम्म पदाधिकारी देखि केन्द्रीय कमिटी मात्र नभई संसदीय दलको पनि बैठक डाकेका छैनन् । उनले बैठक नडाक्नुमा माधव नेपाल पक्षधरबाट हुनसक्ने सम्भावित चुनौती पनि कारण हो ।

नेकपा अध्यक्ष हुँदा ओलीलाई विधानले शक्तिशाली बनाएको थियो । कार्यकारी भूमिकामा उनी नै थिए । तर, एमालेको विधानले पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय कमिटीलाई शक्तिकाली बनाएको छ । पार्टीको हरेक निर्णय केन्द्रीय कमिटीले पारित गर्नैपर्छ । विधानका कारण पनि ओलीका सामु चुनौती बढेको छ ।

संसदमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्तावको भित्री तयारी चलिरहेको छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । त्यतिबेला उनलाई पार्टीको माधव नेपाल पक्षधरबाट अन्तर्घातको सम्भावना नभएको होइन । विगतमा पनि संसदीय इतिहासमायस्ता अन्तर्घातहरु नभएका होइनन् ।

नेकपा हुँदा पनि ओलीले प्रचण्ड, झलनाथ खनाल र वामदेव गौतमलाई सहमतिमा ल्याउने र अलमल्याउने दुवै गर्न सकेका थिए । तर, माधव नेपाल भने उनका सबैभन्दा ठूलो चुनौती । अब एमालेमा रहेर माधव नेपालसँग आमने सामने संघर्ष हुने भएको छ । यो ओलीका लागि नेकपामा रहेकोभन्दा ठूलो चुनौती बन्न सक्छ ।

ओली र माधव नेपालमध्ये को कति शक्तिशाली
एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग पदाधिकारीमध्ये बहुमत छ । नेकपा एमालेको नवौं महाधिवेशनले केपी शर्मा ओलीलाई अध्यक्षमा निर्वाचित गरेको थियो । महासचिवमा इश्वर पोखरेल निर्वाचित भएका थिए ।

एमालेमा १४ पदाधिकारीमध्ये ५ जना पदाधिकारीमात्र ओली पक्षमा छन् । ७ जना माधव नेपाल पक्षधर छन् । उपाध्यक्ष निर्वाचित विद्यादेवी भण्डारी राष्ट्रपति भइसकेकाले उक्त पद खाली छ । निर्वाचित उपाध्यक्ष बामदेव गौतम तटस्थ छन् ।

नेकपा एमालेको स्थायी कमिटिमा १४ जना माधव नेपाल पक्षमा छन् भने ९ जना ओली पक्षमा छन् । यसरी पदाधिकारी र स्थायी कमिटीमा नेपाल बहुमतमा छन् । तर, केन्द्रीय कमिटीमा ओली नेपालभन्दा केही मजबुत छन् । केन्द्रीय कमिटीमा ओली र नेपाल दुवैको बहुमत पुग्दैन । केन्द्रीय कमिटीका २०१ मध्ये ओली पक्षमा एक सय संख्या रहेको छ । माधव नेपालको पक्षमा ९० जना जति केन्द्रीय सदस्य छन् ।



प्रतिक्रिया दिनुहोस्