Logo

कोरोनाविरुद्धको भ्याक्सिन अभाव भएपछि अभियान नै स्थगित



चैत ४, काठमाण्डौ । कोरोनाविरुद्धको भ्याक्सिन अभाव भएपछि सरकारले तत्कालका लागि खोप अभियान स्थगित गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब थप कोभिड खोप आएपछि मात्र ५५ देखि ६४ वर्ष सम्मका व्यक्तिहरूका लागि खोप कार्यक्रम संचालन गर्ने भएको छ । चैत्र ४ गतेदेखि ५५ वर्षभन्दा माथि ६४ वर्षभन्दा मुनिका नागरिकलाई खोप दिने योजना थियो । सरकारले भारतलाई अग्रिम भुक्तानी गरेको मध्येको आधा मात्रै खोप आएकाले हाललाई अभियान स्थगित गरेको हो ।

कोभ्याक्स सुविधा मार्फतको खोप पनि लक्ष्यअनुसार नआउँदा अभियान स्थगित भएको हो । भारतको सिरम इन्स्टिच्युटबाट खरिद गर्नका लागि अग्रिम भुक्तानी भइसकेको १० लाख डोज खोपसमेत सिरमले उपलब्ध गराउन नसक्ने भएपछि नेपाल समस्यामा परेको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

शुरुमा खोपप्रति शंका उब्जिदा खोप लगाउन आकर्षण कम देखिएपनि दोस्रो चरणको अभियानमा जेष्ठ नागरिकको उत्साहपूर्ण सहभागिता थियो । खोप प्रतिको आकर्षण बढदै गएका बेला अभियान नै स्थगित गर्नुपरेको मन्त्रालयले जनाएको छ ।

खोप अभियानलाई निरन्तरता दिने भन्दै ५० लाख डोज खोप खरिद गर्ने तयारी गरीरहे पनि ठोस प्रकृया अघि बढन नसकेको प्रवक्ता अधिकारीको भनाई छ । त्यसैगरी विश्व स्वास्थ्य संगठनको कोभ्याक्समार्फत पनि नेपालले तत्काल खोप पाउने सम्भावना नभएको अधिकारी बताउँछन् ।

सरकारले फागुन २३ गतेदेखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकका लागि दोस्रो चरणको कोरोना भाइरसविरुद्धको खोप अभियान बुधबारबाट सकिएको छ । माघ १४ गतेदेखि सुरु भएको खोप अभियानमा चैत ३ गतेसम्म चलेको थियो । हालसम्म १६ लाख ४४ हजार ५ सय ५८ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । सरकारले खोपको दोस्रो मात्रा पहिलो मात्रा लगाएको १० हप्तापछि देखि १२ हप्ताको बीचमा दिने योजना बनाएको छ । तर खोप नै अभाव हुने भएपछि दोस्रो मात्रा पनि अनिश्चित बनेको छ ।



प्रतिक्रिया दिनुहोस्