Logo

लकडाउनको एकबर्ष : कोरोना संक्रमणको खतरा उच्च



चैत ११, काठमाण्डौ । कोरोना भाइरस संक्रमणले महामारीको रुप लिने संकेत देखिएपछि २०७६ चैत ११ गते देशभर लकडाउन गरिएको थियो । एक वर्षअघि सरकारले लकडाउन घोषणा गर्दा सीमित सङ्ख्यामा मात्र कोरोना संक्रमित भेटिएका थिए । लकडाउन भएको एक वर्ष पूरा हुँदासम्म संक्रमितको २ लाख ७६ हजार २ सय पगेको छ । तर संक्रमितमध्ये २ लाख ७२ हजार दुई सय जना निको भइसकेका छन् भने ३० हजार २० जनाको मृत्यु भएको छ । कुनै बेला ५० हजारको हाराहारीमा संक्रिय संक्रमित भए पनि अहिले करिब १२ सय ८२ जना मात्रै संक्रिय संक्रमित भएकाले जोखिम निकै कम भएको मान्न सकिन्छ । तर फेरी संक्रमणले महामारीको रुप लिन सक्ने खतरा रहेको जनस्वास्थ्य विज्ञ डा. रविन्द«नाथ पाण्डे बताउँछन् ।

यतिबेला अघिल्लो वर्षको जस्तै कोरोना नियन्त्रणका लागि लकडाउन गर्नुपर्ने हो कि भन्ने धेरैलाई लागेको छ । तर सरकारले तत्काल लकडाउन नै गर्ने सोच बनाएको छैन । नियन्त्रणका लागि अन्य विकल्पहरु लागु गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीको भनाई छ ।

पछिल्लो ५ दिनयता मात्रै भारतका विभिन्न शहरबाट कैलालीको गौरीफन्टा नाका हुँदै नेपाल प्रवेश गरेका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा डरलाग्दो रुप लिइरहेको कोरोनाले नेपाललाई पनि जोखिममा पारेको स्पष्ट भएको छ । त्यसैले भारतसँगको सीमा नाकाहरुमा कडाई गर्नुपर्ने डा. पाण्डेको सुझाब छ ।

थपिए संक्रमित :
नेपालमा बुधबार थप १४५ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ । त्यस्तै थप १ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने हालसम्म नेपालमा तीन हजार २० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ९० संक्रमित निको हुँदा हालसम्म नेपालमा २ लाख ७२ हजार १८७ जना निको भएका छन् । हाल नेपालमा ११८२ जना आइशोलेशनमा र ५२ जना क्वारेन्टाइनमा छन् । हालसम्म २२ लाख ४८ हजार ९९३ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओली पनि त्रासमा
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमण नकारात्मकतातिर गएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताएका छन् । प्रधानमन्त्री निबास बालुवाटारमा बुधबार कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कोरानोको भयावह हुन नदिन ध्यान दिनुपर्नेमा जोड दिएका हुन् । उहाले पूर्णरूपमा नियन्त्रण नहुञ्जेलसम्म सामाजिक दुरी कायम राख्न ओलीले सुझाब दिएका छन् ।

काठमाण्डौमा कडाई
काठमाडौं जिल्ला प्रशासन कार्यालयले होली पर्वलाई घरमै सीमित गर्न आग्रह गरेको छ । भारतमा कोरोना संक्रमण बढ्दै गएको र नेपालमा पनि जोखिम बढेको भन्दै प्रशासनले फागुमा सार्वजनिक स्थलमा भिडभाड गर्न नदिने निर्णय गरेको हो । यस्तै, प्रशासनले सार्वजनिक स्थान र सार्वजनिक यातायातमा मास्क अनिवार्य प्रयोग गर्नुपर्ने र भौतिक दुरी कार्यम गर्न भनेको छ। सार्वजनिक स्थानमा मास्क नलगाउने र स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई संक्रामक रोग ऐन २०२० बमोजिक कारवाही गरिने चेतावनी दिइएको छ ।

यसअघि भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले पनि सामूहिक रुपमा होली नमनाउन निर्देशन दिइसकेको छ ।

संसदीय समितिको सुझाब
सरकार सक्रामक महामारी विरुद्ध सधै तयारी अवस्थामा रहनुपर्ने सांस्दहरुले बताएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्र्तगतको उपसमितिले बुधबार मूल समितिलाई प्रतिवेदन बुझाउँदै भविष्यमा आउन सक्ने महामारी विरुद्ध तयारी अवस्थामा रहेन सुझाएको हो । सांसदहरुले त्यस्ता महामारीको उपचार र नियन्त्रणका लागि सबै प्रदेश र केन्द्रमा पर्याप्त सुबिधा सहितको संरचना तयार गर्नुपर्ने र सबै क्षेत्रबाट सजकता अपनाउनु पर्ने सझाव दिएका थिए ।

खोप अभियान ?
सरकारले भारतबाट अनुदान र खरिद गरेर ल्याएको कोभिड १९ विरुद्धको खोप पनि आंशिक रुपमा लगाइएको छ । तर, पर्याप्त मात्रा खोप लगाउन सकिएको छैन । थप खोप ल्याउने सरकारी प्रयास सफल हुन सकेको छैन । संक्रमण नियन्त्रणका लागि खोपको भूमिका महत्वपूर्ण हुने विश्वास लिइएको थियो । तर खोप अभियान नै स्थगित भएका बेला जोखिम बढ्दा स्वास्थ्य सतर्कता अपनाउनुको विकल्प छैन ।



प्रतिक्रिया दिनुहोस्