Logo

महेशपुरमा स्वास्थ्य सहायता कक्ष स्थापना



परासी, १९ चैत: भारतमा पुन : कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि सीमा जोडिएको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का सीमावर्ती क्षेत्रमा सतर्कता अपनाउन थालिएको छ ।

जिल्लाको मुख्य सीमा नाका महेशपुरलगायत सीमावर्ती क्षेत्रमा भारतबाट आउने नागरिकलाई स्वास्थ्य जाँच गरी निगरानीमा राख्न थालिएको छ । पाल्हीनन्दन गाउँपालिका–१ महेशपुरमा कोरोना भाइरसको सम्भावित जोखिम रोकथाम तथा नियन्त्रणका लागि आजदेखि पुनः स्वास्थ्यसहायता कक्ष स्थापना गरी निगरानी बढाइएको हो । यसअघि गत वर्ष पनि यहाँ स्वास्थ्य सहायता कक्ष स्थापना गरी स्वास्थ्य परीक्षण गरिएको थियो ।

सरकारले बन्दाबन्दी हटाइ जनजीवन सामान्य बनेपछि सहायता कक्ष हटाइएकोमा अहिले सङ्क्रमण बढ्ने जोखिमलाई मध्यनजर गर्दै सीमावर्ती क्षेत्र महेशपुर नाकाबाट भित्रिने नागरिकको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ताले राससलाई जानकारी दिए ।

भारतबाट आउने सबै नागरिकको व्यक्तिगत विवरणसहित स्वास्थ्य जाँच गरिने उनले बताए । “भारतबाट आउने नागरिकको ज्वरो मापन गर्ने, शङ्कास्पद देखिएमा तत्कालै आरडिटी परीक्षण गर्ने र थप उपचार गर्नुपर्ने भए अस्पताल पठाउने गरी व्यवस्था मिलाइएको छ”, उनले भने ।

सहायता कक्षमा गाउँपालिका मातहतका स्वास्थ्य संस्थाबाट प्रत्येक दिन एक जनाको दरले स्वास्थ्यकर्मी खटाइएको गाउँपालिकाका स्वास्थ्य शाखाका सूर्यनारायण चौधरीले जानकारी दिए । कोरोना भाइरसको सङ्क्रमणको बारेमा सचेतना फैलाउन र भारतबाट आउने नागरिकको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष सञ्चालन गरिएको बताउँदै प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्न आग्रह गरे ।

खुला सीमाका कारण किनमेल र औषधि उपचारका लागि नेपाल–भारत सीमा हुँदै त्यहाँ दैनिक सयौँ नागरिक ओहोरदोहोर गर्दै आएका छन् । स्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद पोखरेलले सहायता कक्षको सञ्चालन र स्वास्थ्य परीक्षणमा सबैको सहयोग आवश्यक रहेको बताए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्