Logo

बिमस्टेकका परराष्ट्रमन्त्रीहरुको १७औं बैठक : म्यानमारको हिंसाबारे सबै चुप



चैत १९, काठमाण्डौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास बिमस्टेकका परराष्ट्रमन्त्रीहरुको १७औं बैठक सम्पन्न भएको छ । बैठकमा म्यान्मारमा एक महिनादेखि भइरहेको नरसंहारको विषय उठ्ने अपेक्षा गरिए पनि कुनै पनि देशले मुख खोलेनन् । विमस्टेकको अध्यक्ष श्रीलंकाले आयोजना गरेको भर्चुअल बैठकमा सदस्य राष्ट्रहरु भारत, नेपाल, बंगलादेश, श्रीलंका, म्यान्मार, थाइल्याड र भुटान थिए । तर सबै मुलुकका परराष्ट्रमन्त्रीहरुले पूर्वनिर्धारित विमस्टेकको एजेन्डामाथि नै आफ्ना भनाइहरु राखे ।

बैठकमा पाँचौ शिखर सम्मेलनको घोषणापत्रको विषयवस्तुको बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । पाँचांै शिखर सम्मेलन यसै वर्षको नोभेम्बर महिना गर्ने तयारी छ । बैठकमा पारस्परिक कानुनी सहायतासम्बन्धी सन्धिमा हस्ताक्षर गर्ने सहमति बनेको छ । त्यसैगरी सदस्य मुलुकहरुको बीचमा प्रविधिको हस्तान्तरणसम्बन्धी सहमतिलाई समेत अगाडि सहमति भएको छ ।

मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिमस्टेकलाई अगाडि बढाउनको लागि सशक्त इच्छाशक्ति र प्रतिवद्धता चाहिने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा म्यान्मारका सैनिक मन्त्री पनि सहभागि थिए । उनले आफ्नै मुलुकमा आफ्नै सरकारबाट भइरहेको हिंसात्मक दमनको कुरा त उठाएनन नै, अन्य देशका मन्त्रीहरुले म्यान्मारले गलत गरिरहेको भन्ने कुनै अभिव्यक्ति नै दिएनन् ।

म्यान्मारमा एक महिनाअघि माघ १९ गते जननिर्वाचित सरकारलाई अपदस्त गर्दै सैनिक ‘कु’ गरिएको थियो । यसबीचमा महिला, बालबालिका, विद्यार्थी, वृद्ध गरी पाँच सयभन्दा बढी बर्मेली नागरिकले सेनाका हातबाट ज्यान गुमाइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्