Logo

एनभीए कप भलिबलमा एपीएफ क्लबको विजयी सुरुवात



चैत १९, काठमाण्डौ । पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा विभागीय टिम नेपाल एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा बिहीबार भएको पुरुषतर्फ खेलमा बुलबुले रारा क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो ।

एपीएफले बुलबुलेलाई पहिलो र दोस्रो सटमा २५–२० र २८–२६ ले पराजित गरेको थियो । बुलबुलेले तेस्रो सेट २५–१८ ले जित्दै खेलमा फर्कने कोशिस गरे पनि चौथो सेटमा ३२–३० को सेटमा जित निकाल्दै एपीएफले महत्वपूर्ण ३ अंक जोडेको हो । त्यसैगरी विभागीय टिम नेपाल पुलिस क्लबले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।

त्यस्तै पुरुषतर्फको खेलमा नयाँ बजार सामाजिक युवा क्लबलाई ३–० को सोझो सेटमा हराएर पुलिसले सुखद सुरुवात गरेको छ । राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता रहेको पुलिसले नयाँबजारविरुद्ध २५–९, २५–२१ र २५–१६ को सेटमा जित निकाल्यो । चैत २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । लिगमा महिलातर्फ एपीएफ, आर्मी, पुलिस, न्यु डाइमण्ड, ढोरपाटन र भरतपुर मेट्रो खेलकुद परिषद् रहेका छन् । यस्तै, पुरुषतर्फ एपीएफ, आर्मी, पुलिस, बुलबुले रारा, हेल्प नेपाल, नयाँ बजार सामाजिक युवा क्लब, मणिमुकुन्द छन् ।

लिगको महिला र पुरुष विजेताले ३ लाख नगद प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउने संघले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउनेछन् । उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस्