Logo

पर्यटन मन्त्री ढकाल विमानस्थल निरिक्षणमा : जहाज होल्डिङको समस्या शुन्यमा झार्न निर्देशन



चैत २२, काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले जहाज होल्डिङ हुने समस्यालाई शून्यमा झार्ने गरी तत्काल काम अगाडि बढाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचनाको निरीक्षण गर्दै मन्त्री ढकालले जहाज होल्डिङ भइ अनावश्यक सास्ती खेप्नु परेकोले तत्काल यो समस्या समाधान गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएका हुन् ।

आकाशमा डेढ घण्टासम्म जहाज होल्ड भएको गुनासो सुन्नु परेको मन्त्री ढकालको भनाई छ । जहाज होल्ड हुँदा नेपालको हवाई क्षेत्रको बारेमा गलत सन्देश समेत जाने उनको भनाई छ । त्यस्तै उनले विमानस्थलमा पहुँचको आधारमा मान्छे प्रवेश गराएर भिआइपी कक्ष भिड कक्ष जस्तो भएको भन्दै असन्तुष्टी व्यक्त गरे ।

नेपालमा इन्धनको मूल्य धेरै भएको भन्दै अन्तर्राष्ट्रिय स्तरको मूल्य बनाउन सम्बन्धित सबै पक्षलाई निर्देशन पनि दिए । मन्त्री ढकालले त्रिभुवन विमानस्थलको व्यवस्थापन राम्रो भएमा देशका सबै विमानस्थल आफैं व्यवस्थित हुने दावी गरे । कोभिड–१९ ले सबैभन्दा धेरै मारमा परेका क्षेत्रमध्येको पर्यटन क्षेत्र पनि रहेको उनले बताए । आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम बन्ने चरणमा रहेको बताउँदै मन्त्री ढकालले मातहतका सबै पक्षलाई सुझाव र सल्लाह दिन आग्रह पनि गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्